वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध कायम रहने


पोखरा – नेपाल सरकारले २०७७ साल वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने भएकाे छ । सरकारले यस अघि चैत १८ गतेसम्मको लागि अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धलाई थप गर्दै अप्रिल १५ अर्थात वैशाख ३ सम्मको लागि लम्ब्याएको हाे ।

नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले चैत ९ देखि १८ गतेसम्म लागू गरिएको प्रतिबन्धलाई बढाउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको थियो ।

बैठकले स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्त सहित नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई नेपाली नागरिक भएको प्रमाणका आधारमा नेपाल प्रवेश गर्न दिने निर्णय समेत गरेको छ ।