आज चैते दशैँ पर्व, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै


काठमाडौँ-प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिनई चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । “वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ”–उहाँले भन्नुभयो । बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनका लागि हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस वर्ष कोरोना भाइरसको सन्त्रासले जारी लकडाउनका कारण परिवारका सदस्यलाई एकै ठाउँमा जुटाइदिएको छ । आफन्तजनका जान भने सकिने अवस्था छैन । यसैले घरमै रमाइलो गरी चैते दशैँ मनाउने अवसर भने जुटेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

यस वर्ष विशेष परिस्थिति भएकाले घरबाटै मानसिक पूजा गरेको सम्झी दर्शन गर्न सकिने उहाँले जानकारी दिनुभयो । धेरैजसो मन्दिर भक्तजनका लागि सूचना टाँस गरी बन्द गरिएको छ । त्यहाँ नित्य पूजाका लागि पुजारीले मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ । हनुमानढोकामा बलि नदिइने प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ । कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिने भनी माथिबाट निर्देशानुसार गर्न लागिएको दशैँघरका मूल पुजारी देवरजा अर्यालले राससलाई जानकारी दिनुभयो । चैत्र शुक्ल प्रतिपदादेखि नै दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत छ । कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको हो ।रासस