कोरोनाको हार :-‘१० दिन अचेत लडेँ, कोरोनालाई जितेर घर फर्किएँ’


वसन्त रानाभाट,बार्सिलोना । ‘म अहिले ठिक छु । सबैको कुशलताको कामना गर्दै सजग रहन अनुरोध गर्दछु । जीवनको जन्मपश्चात मृत्यु शाश्वत सत्य हो । तर, त्यो सत्यको विरोधमा हामी संघर्षशील रहिरहन्छौं । सायद यही नै जीवनप्रतिको मोह हो ।’

कोरोना संक्रमण भएपछि दुईहप्ताको कष्टकर अस्पताल बसाइँबाट शनिबार घर फर्किएका स्पेन निवासी नेपाली विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका वाक्यहरु हुन् यी ।

स्पेनको बार्सिलोनामा एक दशकभन्दा लामो समयदेखि परिवारसहित बस्दै आएका रिजालको मूल घर नेपालको अर्घाखाँची हो । उनलाई १० दिनसम्म सघन कक्षमा राखेर उपचार गरियो । उनको होस गुम्यो । डाक्टरहरुले पनि बचाउन गाह्रो हुन्छ कि भन्ने ठाने । अन्ततः विष्णुले कोरोनाविरुद्धको लडाइँलाई जितेरै छाडे । र, समुदायकै मनोबल उच्च पार्ने गरी आशाको दियो बालेर झुल्किए ।

अहिले बार्सिलोनास्थित आफ्नै घरको आइसोलेसनमा रहेका रिजालले कुरा गर्दै भने, ‘डाक्टहरुले भनेअनुसार मेरो उच्च मनोबलले नै म बाँचेको हुँ । नयाँ जीवन यसैको प्रतिफल हो ।’ अस्पतालबाट डिस्चार्ज भएपछि उनै विष्णु रिजालसँगको कुराकानी–

अहिले तपाईंको स्वास्थ्य कस्तो छ ?

औषधि खाइरहेको छु । अक्सिजन लिनुपरेको छैन । बोल्दा धड्कन बढेर असजिलो हुन्छ । तर, समाजका लागि सन्देश पुगोस् भनेर नै म कुराकानी गर्न तयार भएँ । दश दिनसम्म अत्तोपत्तो नहुँदा नेपाली समुदायले आशा मारिसकेका थिए । तर, म अहिले ठिक छु । डाक्टरहरुले पनि होटलको क्वारेन्टाइन बस्नुभन्दा घरमै गएर आराम गर्न सुझाव दिएपछि म घरमै आएँ ।

अहिले तपाईंको रेखदेख गर्ने को-को हुनुहुन्छ ?

श्रीमती, एक छोरा र एक छोरी छन् । म बिरामी भएँ । लामो समय अस्पताल बस्नुपर्यो, तर मेरो परिवारका अरु सबै सदस्यहरु ठिक छन् ।

सुरुमा कस्तो लक्षण देखिएको थियो ?

मैले औषधि खाइरहेको थिएँ । मौसम परिवर्तन हुँदा त्यो सबैले खाइराखेको नै हो । तीन दिन औषधि खाएपछि मलाई सञ्चो भएजस्तो भयो । चौथो दिनको राति सामान्य खोकी लाग्यो । लगातार खोकी लागेपछि सास फेर्न गाह्रो भयो । अक्सिजन नपुगेको जस्तो भान भयो । त्यसपछि मार्च २२, आइतबारका दिन छोरालाई लिएर अस्पताल पुगें ।

अनि त्यसपछि ?

डाक्टरहरुले दिसा–पिसाब लगायत सबै जाँच गरे । सामान्य औषधि सुरु भयो । गर्दागर्दै मलाई स्लाइन चढाउन सुरु गरे । राति ३ बजे अर्को अस्पतालमा लगियो । अर्को दिनको साँझ मात्रै मलाई डाक्टरले सोधेँ- तपाईं के भएको छ, थाहा छ ? मैले थाहा छैन भनेँ ।

खासै कोरोनाको संक्रमण नदेखिए पनि निमोनिया देखिएको छ, भन्यो । त्यहाँबाट फेरि अर्को अस्पतालमा लगियो । त्यसपछि के-के भयो मलाई केही थाहा छैन।

अर्को अस्पताल गएको पनि थाहा छैन, आएको पनि थाहा छैन । हिसाब गर्दा त १४ दिनपछि पो घरमा फर्किएको रहेछु ।

भन्नाले तपाईं अचेत हुनुभयो ?

म जुन बेडमा थिएँ नि । त्यसमा सिकिस्त बिरामीमात्र राखिन्छ रे । यो मर्नेबेला भयो भनेपछि नेपालमा बाहिरतिर सार्ने चलन हुन्छ, नि। धार्मिक निष्ठाले पुकारिन्छ, नि। हो, त्यस्तै अन्तिम अवस्थाको बिरामीलाई राख्ने ठाउँ रहेछ त्यो । मलाई त त्यो ठाउँ पनि कता हो कता जस्तो लाग्यो । अर्ध चेतजस्तो भएछु रे ।

अस्पतालमा छु भन्ने कहिले थाहा भयो ?

होसमा आएको त म बिहीबार साँझ मात्र हो ।

कसरी राखिएको थियो तपाईंलाई ?

अक्सिजन दिएर, पाइपबाट नै खानाहरु दिएर राखिएको रहेछ। निमोनियाका कारणले अवस्था निकै नाजुक थियो । मेरो जीवन ठूलो खतराबाट जोगिएको रहेछ । पाँचौं दिनमा मलाई डाक्टरले उठाएको थियो रे ।

घर फर्कनुअघि बल्ल वृत्तान्त बताए । डाक्टरले सोधेछन्– तेरो अवस्था नाजुक छ, के गर्ने भनेर । मैले अर्धचेतमै भनेछु, ‘मैले दुईवटा छोराछोरी १४–१५ वर्षका भए । म ४/५ वर्ष जसरी पनि बाँच्नैपर्छ । उनीहरुलाई आफ्नो खुट्टामा उभिने बनाउनुपर्छ भनेँ रे । मलाई जसरी पनि ठिक गर भन्दै उनीहरुलाई खाना खुवाउने इन्भिटेसन पनि दिएँ रे ।

डाक्टरहरुले भन्दै थिए, ‘विष्णु, त्यस दिनदेखि नै हामीले तेरो उच्च मनोबल देखेका थियौ‌ं‌ । यो नयाँ जीवन त्यसैको प्रतिफल हो । त्यसैले आइसोलेसनका लागि पनि होटलमा पठाउँदैनौं, घरमा नै जाने सुझाव दिन्छौं ।’

तपाईंलाई अहिले कोभिड-१९ नेगेटिभ देखिएर डिस्चार्ज गरिएको हो ?

त्यसो पनि न भनौं । म घरमा नै सेल्फ आइसोलेसनमा बस्छु । डाक्टरहरुले फोन सम्पर्कबाट नै निगरानीमा राख्नेछन् । उनीहरुकै सुझावलाई मनन गर्दै म पूर्णरुपमा निको हुनेछु ।

तपाईंलाई कहाँबाट संक्रमण भयो जस्तो लाग्छ ?

मलाई लाग्छ, अस्पतालबाट नै सर्‍यो कि । २/३ दिन अघि पनि नर्मल चेकअपका लागि अस्पताल पुगेको थिएँ । त्यसअघि १०/१२ दिन म घरबाट कतै पनि निस्केको थिइनँ । यदि पहिलेदेखि नै म संक्रमित थिएँ भने मेरो परिवारमा अन्यलाई पनि सरिसक्थ्यो । तर, त्यसो भएन । नर्मल चेकअपमा जाँदा म अस्पतालमा नै अन्य बिरामीबाट संक्रमित भएँ कि भन्ने लाग्छ । तर, रोग नै यस्तो पर्‍यो, यकिन नै गर्न त कहाँ सकियो र ? तर, मेरो सुझाव के छ भने, अस्पतालमा पुग्दा वा कसैलाई लिएर जाँदा सुरक्षित भएर जानुहोला। अन्य ठाउँमा भन्दा बढी सजगता अपनाउनुहोला।

नेपालमा एकजना कोरोना संक्रमित भेटिएदेखि नै आतंक छ । तपाईंले त कोरोनालाई जितेर फर्किनु भएको छ । कस्तो लागेको छ ?

डाक्टरले भनेजस्तै म आफ्नै उच्च मनोबलले बाँचेको हुँ । नयाँ जीवन पाएको छु । कोरोनाबाट जो कोही पनि संक्रमित हुनसक्छ । विभिन्न उच्चपदस्थ व्यक्तिहरु संक्रमित भएको सुनेँ । उनीहरुले पनि आफ्नो अवस्था सार्वजनिक गरेका रहेछन् । यो लुकाउने रोग नै होइन । सही जानकारी दिन सकेमात्र धेरैको जीवन बचाउन सकिन्छ ।

यसलाई कोरोना लाग्यो भनेर आतंकित हुन जरुरी छैन । बरु आफ्नो सावधानीलाई उच्च पारौं । जोखिम हुने कुनैपनि अवस्थासँग सम्झौता नगरौं । मैले पनि सावधानी गरेकै हुँ। तर, गर्दागर्दै पनि भयो ।

अरुका कारणले पनि हुनसक्छ । तसर्थ, प्रत्येक व्यक्ति इमान्दार बनेन भने पनि नियन्त्रण हुनसक्दैन । अर्को कुरा, सोच पनि सकारात्मक हुनुपर्यो नि । बिरामीलाई मनोबल र हौसला दिनुपर्यो नि । त्यसमा पनि मलाई कोभिड–१९ भयो भनेर समाजलाई लुकाउन जरुरी छैन । अरुले के भन्लान् भन्न जरुरी छैन ।

स्पेनमा बस्दै आएका नेपाली समुदायमा ५/६ जना शंकास्पद देखिएका छन् रे । कतिपयले आफू संक्रमित भएको कुरा अरुलाई भन्दैनन् रे । यसमा तपाईंको भनाइ के छ ?

मलाई त्यस्तो भयो भन्ने थाहा पाएपछि हामी पनि आइसोलेसनमा छौं भन्दै थुप्रैले मलाई सम्पर्क गर्नुभयो । उहाँहरुलाई म केही पनि भन्दिनँ । तर, नेपाली समाजको मनोबल उच्च बनाउन आफ्नोबारे बताइदिँदा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु । आफूलाई सार्वजनिक गर्नै नसके पनि संक्रमित हुनुपूर्व भेटघाट गरेका साथीभाइहरुलाई तत्काल खबर गरिदिनुपर्छ ।

कोरोना संक्रमित बिरामीहरुलाई कस्तो व्यवहार गरिनुपर्छ ?

उहाँहरुको उच्च मनोवल बढाउने कोसिस गर्नुपर्छ । उहाँहरुलाई कत्ति पनि हिनताबोध नहोस् । मलाई कोरोना भयो, भने समाजले के भन्ला भन्ने होइन । बरु आफ्नो बारेमा साथीभाइ इष्टमित्रहरुलाई जानकारी दिएर तपाईंहरु पनि मेरो सम्पर्कमा हुनुहुन्थ्यो भने स्वास्थ्य जाँच गराउनूस् भनेर भन्नुपर्छ । दुःखमा परेकाहरुलाई सुरक्षाको उपाय अपनाउँदै सहयोग गर्नुपर्छ ।

जस्तो-मेरो उदाहरण दिउँ, तीन हप्तादेखि लकडाउनको अवस्था छ । सार्वजनिक यातायातका साधन कम चलेका थिए । एम्बुलेन्सको सेवा पाउन निकै गाह्रो थियो । घर फर्काउन पनि चुनौती थियो। हप्तौंदेखि सबैजना घरभित्रै छन् । बाहिर निस्कँदा सबैले जोखिम नै ठान्दछन् । तर, कास्की मूल घर भएका सन्दीप मोहन भट्टराई मलाई लिन गाडी नै लिएर अस्पतालसम्म आउनुभयो । साथीभाइलाई अप्ठ्यारो पर्दा सहयोग नगरे कहिले गर्ने भनेर आफू पूर्ण सुरक्षित रहेर मलाई सहयोग गर्नुभयो ।

अर्को कुरा, कोरोना लाग्दैमा डराउनुपर्दैन । विश्वभर धेरै मानिसहरु कोरोना लागेपछि पनि बाँचेका छन् । मृत्यु हुनेभन्दा उपचारपछि निको हुने बिरामीहरु धेरै छन् । त्यसैले नआत्तिऔं । सकारात्मक सोच राख्ने बानी बसालौं र मनोबल उच्च राखौं भन्न चाहन्छु ।

जीवन के-जस्तो लाग्यो ?

जीवनको जन्मपश्चात् मृत्यु साश्वत सत्य हो । तर, त्यो सत्यको विरोधमा हामी संघर्षशील रहिरहन्छौं । सायद यही नै जीवनप्रतिको मोह हो । लगभग म मृत घोषित बिरामी जस्तै थिएँ । साथीभाइसँग भएका वैमनस्यतादेखि लिएर सबै कुरा भुलिँदोरहेछ । मेरो उद्देश्यप्रति समर्पित भएर आफू बाँच्नैपर्छ भनेर आफैंसँग संघर्ष गरेँ । त्यही मनोबलले मलाई नयाँ जीवन दियो ।