ब्रिटिश महारानीको विशेष संदेश


लन्डन, एप्रिल ५ (जीएनएन ) — ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको लडाईंमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छिन् । ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा एक विशेष संदेश दिंदै महारानी एलिजाबेथले घरमै बसेको तथा एक अर्कालाई सहयोग गरेकोमा आफ्ना जनतालाई धन्यवाद दिइन् ।

उनले सबै देशवासीलाई सरकारको निर्देशन पालना गर्न र घरमै बस्न आग्रह पनि गरिन् । टेलिभिजनबाट प्रसारित संदेशमा ९३ वर्षीय महारानीले ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लगायत देश बन्दाबन्दीमा रहेको बेला पनि आवश्यक सेवा संचालन गर्न खटीरहेका “कि वर्कर्स” हरुलाई धन्यवाद दिइन् ।

ब्रिटेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या झन्डै ५ हजार पुग्न लाग्दा ब्रिटिश महारानीले देशवासीका नाममा यस्तो संदेश दिएकी हुन् । ब्रिटिश महारानीले यो संदेशबाट देशवासीको मनोबल उठाउन खोजेको ठानिएको छ ।

“हामीले अझै बढी पीडा खेप्नु पर्ने हुन सक्छ, तर राम्रा दिन फर्कने छन् ।हामी फेरी हाम्रा साथीहरुसंग, हाम्रो परिवारसंग संगै हुने छौं, हामी फेरी भेट्ने छौं । हामी संगसंगै यो रोगसंग जुधीरहेका छौं, र म तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छु कि यदि हामी एकताबद्ध र दृढनिश्चयी भएमा हामीले यो संकट माथि अवश्य पनि जित हासिल गर्ने छौं,” उनले संदेशमा भनेकी छिन् ।

६८ वर्ष लामो शासन कालमा देशवासीका नाममा महारानीले दिएको यो पाचौं विशेष संदेश हो। ब्रिटिश महारानीसंग कुनै राजनीतिक शक्ति नभए पनि धेरैले राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकको रुपमा पनि हेर्दछन् ।