ब्रिटिश प्रधानमन्त्री जोनसन आइसीयुमा


लन्डन, एप्रिल ६ (जीएनएन) — आइतबार अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य बिग्रिए पछि उनलाई सघन उपचार कक्ष (आइसीयु) मा सारिएको उनको कार्यालयले जनाएको छ । कोरोना भाइरसबाट संक्रमित भए पछि गत महिनादेखि नै स्व-एकान्तवासमा बस्दै आएका प्रधानमंत्री जोनसनलाई आइतबार राति लण्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई सोमबार दिउँसोदेखि अक्सिजन दिन थालिएको थियो । उनको कार्यालय, टेन डाउनिंग स्ट्रीटले, स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । तर सोमबार बेलुका उनको स्वास्थ्य अवस्था बिग्रिएको समाचारहरुमा जनाइएको छ ।

प्रमुख विपक्षी लेबर पार्टीका नवनिर्वाचित नेता कियर स्टार्मरले यो अत्यन्तै दुखको समाचार भएको बताए । उनले यो अत्यन्तै कठिन समयमा सिंगै देश प्रधानमंत्री र उनको परिवारको साथमा रहेको पनि जनाए। लन्डनका मेयर सादिक खानले प्रधानमंत्री जोनसनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

५५ वर्षीय प्रधानमंत्री जोनसनले सोमबार एक ट्वीट गर्दै आफु आफ्ना चिकित्सकहरुको सल्लाह अनुसार अस्पताल भर्ना भएको र आफ्नो मनोबल उच्च रहेको बतएका थिए । गत २७ मार्चमा प्रधानमंत्री जोनसनले आफु कोरोनाबाट संक्रमित भएको जनाएका थिए । जरो न घटे पछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनको कार्यालयले प्रधानमंत्री जोनसनले अवश्यकता अनुसार आफ्नो काम गर्न विदेश मंत्री डोमिनिक राबलाई तोकेको जनाएको छ । प्रधानमंत्री जोनसनकी गर्भवती प्रेमिका क्यारी सिमंड्स पनि छुट्टै एकान्तवासमा बसीरहेकी छिन् ।