पोर्चुगलमा बिचौलियाबाट ठगिएको घटना भए दूताबासमा निबेदन दिनुहोस् !


दीपक अधिकारी, राजदूत, नेपाली राजदूतावास पेरिस, फ्रान्स

पोर्चुगलको कृषि क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु काम गरिरहेको कुरा मैले पनि सुनेको छु । पहिलो, खेतीमा काम गर्दा त्यस्तो क्लोज कन्ट्याकमा काम गर्नु परेन । दोस्रो कुरा, अहिले सबैतिर कामविहीन भएर बस्नुपरेको अवस्थामा पोर्चुगलमा धेरै नेपालीहरुले काम गरिराख्नु भएको छ । यसको उज्यालो पाटो भनेको बेरोजगार बस्नु परेन।

उहाँहरु कसरी काम गरिराख्नु भएको छ, त्यो मैले देखेको छैन । यो तर्कको कुरा मात्र पनि भयो । तर, काम गर्दा स्थानीय प्रशासनले जारी गरेको नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्छ । त्यति धेरै चिन्तित नै हुनुपर्ने हो जस्तो त मलाई लाग्दैन । यहीँ फ्रान्समा पनि कृषि मन्त्रीले खेतीमा काम गर्न जनशक्तिको अभाव भएको बताउनुभएको छ ।

फ्रान्स, स्पेन वा पोर्चुगल जहाँसुकै पनि कृषि बन्द भयो भने त बजारमा खाद्यान्न नआउने भयो । भोकमरीको अवस्था आउन सक्छ । अर्को कुरा संक्रमणको जोखिमको विषयमा पोर्चुगल सरकार निकै सतर्क छ भन्ने लाग्दछ ।

पोर्चुगल सरकारले रेसिडेन्सी कार्ड नभएका आप्रवासीहरुलाई सहज बनाएको हो ?

पोर्चुगलले खुल्ला ह्रदयले कुटनीतिक नोट लेखेर चिट्ठी पनि पठाएको छ । पोर्चुगिज सरकारले १३ मार्च २०२० मा गरेको निर्णयानुसार पोर्चुगलमा बस्ने अनुमति प्रदान गरेका कागजात वा भिसाको म्याद २४ फेब्रुअरी २०२० पछि समाप्त भएको भए ती कागजात वा भिसा ३० जुन २०२० सम्म स्वत: वैध मानिनेछन् ।

पोर्चुगिज सरकारले २८ मार्च २०२० मा गरेको अर्को निर्णयानुसार १८ मार्च २०२० भित्र पोर्चुगलमा बसोबासको लागि निवेदन दिने सबै विदेशी नागरिकलाई १ जुलाई २०२० सम्म अस्थायी बसोबासको अधिकार प्रदान गरेको छ । यसबाट आवास अनुमतिको लागि आवेदन गर्नेहरूले सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा र बैङ्क एकाउण्ट सम्झौता, रोजगारसम्बन्धी सम्झौता र घर भाडा सम्झौता नवीकरणको सुविधा १ जुलाई २०२० सम्म प्राप्त गर्ने छन् ।

पोर्चुगलमा संक्रमित नेपालीहरुको यकिन विवरण दूतावाससँग छ ?

फिल्डमा भएको दूतावास भएको भए एउटा कुरा हुन्थ्यो । उहाँहरुसँग नजिक भएर काम गर्न पाइन्थ्यो । अहिले त फोनको माध्यम मात्रै हो । कोही संक्रमित भएर उपचारमा हुनुहुन्छ भने घटना बाहिर नआओस् म ठिक भइहाल्छु भनेर बाहिर नल्याएको हुन सक्छ ।

कन्सुलेटमा आजपनि कुराकानी गरेको थिएँ । त्यहाँको परराष्ट्र मन्त्रालयको मान्छेसँग उहाँहरु सम्पर्कमा हुनुहुन्छ । नेपालीहरुको यकिन तथ्यांक दिनुहोस् भनेर उहाँहरुले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिसक्नुभएको छ । सकेसम्म एउटै तथ्यांक भएमा समुदायलाई राम्रो सूचना पुग्दछ । कन्सुलेट र एनआरएनले संयुक्त रुपमा के बुझ्नुहुन्छ त्यसलाई नै हामीले आधार मान्ने हो। त्यसमा पनि कसलाई कुन स्रोतबाट के जानकारी आयो भन्ने विषय महत्वपूर्ण हुन्छ ।

तर, कन्सुलेट र एनआरएनएबीचको तथ्यांक फरक छ नि ?

त्योचाहिँ उहाँहरुसँग फेरि भेरिफाई गरौँला । तर, कन्सुलेटको भनाइ के छ भने आधिकारिक यो हो भन्ने नभएसम्म हामी आफैँले व्याख्या गरेर संक्रमित भन्ने कि नभन्ने ? मैले वाणिज्य दूतसँग कुरा गर्दा अलिकति बढी ६-७ जना संक्रमित भएको भन्ने पनि छ । तर हामीले व्याख्या गर्ने हो कि ? कन्फर्म नभई कसरी भन्ने ?

उहाँहरु आफैँले मलाई यस्तो भएको हो । डाक्टरले टेष्ट गर्दा पोजेटिभ देखियो नभनेसम्म  बोल्न ग्राहो हुन्छ वा त्यहाँको परराष्ट्रको तथ्यांकलाई हामीले कुर्नुपर्ने हुन्छ। अर्कोकुरा कन्सुलेट र एनआरएनएसँगै काम गरौँ भन्ने मानसिकतामा देखिनुहुन्छ । अब छिट्टै केही तथ्य आउला । हामीहरुले बुझेअनुसार संक्रमितमध्ये कोही पनि त्यस्तो जोखिममा हुनुहुन्न ।

संकटको अवस्था लम्बिदै जाने हो भने त पोर्चुगलमा खान बस्नमा नै समस्या देखिने अगुवाहरुको आकलन छ । त्यसमा दूतावासले के गर्न सक्छ ?

हामी सबैले बुझेका छौँ विदेशमा रहेका नेपालीहरु संख्या धेरै नै ठूलो छ। खाडी क्षेत्रका रोजगारीमा पुगेका कामदारहरुदेखि लिएर पढ्न गएका विद्यार्थीहरुसम्म ठूलो संख्या छ । तर, यो संकट अचानक आइलाग्यो । कसैको पनि पूर्व तयारी छैन। कसरी सम्हालिने भन्नेबारे सबैलाई कठिन छ । औषधि उपचार, बाँच्ने र बचाउने कुरा प्राथमिकतामा हुन्छ।

अहिले पोर्चुगल, फ्रान्समात्र भन्ने कुरा भएन । युरोपमात्र भन्ने कुरा भएन । समग्र रुपमा देशभित्र र बाहिर रहेका सबै नेपालीहरुलाई हेर्नुपर्ने हुन्छ । यो कठिन क्षणमा एकले अर्कालाई सहयोग गरौँ । नेपाल सरकारले केही गर्नुपर्ने देखिएमा दूतावास स्वत: अघि आइहाल्छ । दूतावासले पनि कहिल्यै नभोगेको स्थिति भयो । यो बेलामा धैर्य गरौँ, संयमित बनौँ।

खेतीको कामका लागि बिचौलियाहरुले मोटो रकम लिएको र नेपालीहरु ठगिएका घटनाबारे दूतावास  जानकार छ ? 

दूतावासले पोर्चुगलमा कामदार ल्याउने भनेर अहिलेसम्म श्रमिक मागपत्रहरु प्रमाणित गरेको छैन । तपाईंले भनेको जस्तो हामीले पनि सुनेका छौँ। तर, दूतावासले कागज प्रमाणीकरण नगरेको हुनाले के शर्तमा कसरी भिसा लगाएर आउनुभयो भन्ने जानकारी छैन। मोटो रकम तिरेर आउनुभएको छ भन्ने अनौपचारिक रुपमा सुनेका छौँ।

मलाई यस्तो भयो भनेर कसैले पनि दूतावासमा निवेदन दिनुभएको छैन । ठगियो वा यस्तो भयो भनेर दूतावासमा निवेदन आयो भने त्यसबारे छानबिन गर्न वा कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेर पठाउछौँ ।

अहिलेसम्म दूतावासमा एउटा पनि त्यस्तो निवेदन छैन । म के निवेदन गर्दछु भने यदि तपाईं आउने प्रक्रिया वा अन्य सिलसिलामा कोहीसँगबाट ठगिनुभएको छ भने दूतावासमा निवेदन दिनुहोस् । तबमात्र आधिकारिक रुपमा कारबाही गर्ने आधार बन्दछ ।

(पत्रकार बसन्त रानाभाटसँग फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले गरेको कुराकानीको सम्पादित अंश। पेरिस दूताबासले पोर्चुगललाई समेत हेर्दै आएको छ। )