यदि कसैले ले अफ दिन्न भनिरहेका छन् भने कानुनी पहल गर्न तयार छौँ।


तिलक गैरे, अध्यक्ष एनआरएनए पोर्चुगल

पोर्चुगलमा पनि केही साथीहरु कोभिड- १९ बाट संक्रमित हुनुभएको छ। कतिजना संक्रमित छन् भन्नेबारे हामीले सोधखोज गरिरहेका छौँ । यसका लागि क्षेत्रीय कमिटीहरुसँग समन्वय भइरहेको छ । बिहीबार साँझसम्म ११ जना संक्रमित नेपालीहरु छन् ।

कतिपय हुँदै नभएका घटनाहरु बाहिर आउँदा झन् साथीहरु त्रसित भएको अवस्था पनि छ । संक्रमित साथीहरु सम्पर्कमा आउन चाहनुहुन्न। चेतनाको अभावले पनि हुनसक्छ।

तपाईं‌को आफ्नै पनि कम्पनी छ, कोभिड-१९ को प्रकोपसँगै कृषि कामदारको अहिलेको अवस्था कस्तो छ ?

मानौं, ५५ जनाले यात्रा गर्ने एउटा बस छ भने अहिले एक तिहाइ अर्थात् १८ जनामात्र कामदारहरु चढ्न पाउँछन्। ५ सिटको गाडी छ भने पनि दुई जनाले मात्र यात्रा गर्न सक्छन् । मैले जोखिम नै छैन भनेर भन्न सक्तिन । तर, सरकारका नियमहरु कम्पनीहरुले पालना गर्नुपर्दछ । त्यसो गरेमा अलिकति जोखिम कम हुन सक्छ ।

मेरो कम्पनीमा नेपाली साथीहरु एकदमै न्यून संख्यामा २-४ जनाले मात्र काममा गरिराख्नुभएको छ । सरकारले बन्द गरेको खण्डमा खेतीको काम स्वत: बन्द नै हुन्थ्यो । तर, दैनिक उपभोग्य सामानहरु उत्पादनको क्षेत्रमा सरकारले त्यस्तो घोषणा गरेको छैन । सुरक्षित बन्नका लागि नियमहरुको पालना गर्नुपर्दछ ।

१०- १२ हजारको संख्यामा खेतीमा जोखिम मोलेर काम गरिरहेका नेपालीबारे दूतावासलाई जानकारी छ ?

यो विषयमा राजदूतसँग कुराकानी गरेको थिएँ । यहाँको सम्बन्धित निकायलाई पनि जानकारी गराएको छु । कतिले डराएर काम गर्नु भएको छैन । जसले काम गरिरहनुभएको छ, उहाँहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु । हामीले पनि कसरी सुरक्षित बन्नेबारे चेतनामूलक कार्यक्रमहरु ल्याउँदै छौँ।

कृषि क्षेत्रमै उच्च जोखिमको काम हुन नसकेपछि एजेन्ट कम्पनीले, नेपालीलाई भाडा तिर्न भनेका छन् भन्ने सुन्नमा आएको छ । यदि तिर्न नसक्ने भए कम्पनीबाट निकालिदिने गुनासोसम्म आएको सुनिन्छ नि !

केही कम्पनीहरुले त्यो कुरा गरेका छन् भन्ने जानकारीमा आएको थियो । मैले उनीहरुसँग कुरा गरिसकेँ । अहिले लिस्वनभन्दा बाहिर कृषिसम्बन्धी कम्पनीमा काम गर्न नेपालीहरु जान सक्ने अवस्था छैन ।  भारतीय, पाकिस्तानी, बंगलादेशी कामदार बढी छन् । ती समस्याको समाधान भइसकेका छन् ।

सरकारले दिने सामाजिक सुरक्षा प्राप्त गर्नबाट नै नेपालीहरु बन्चित भएको पनि सुनिन्छ नि !

यहाँ ले अफ र फुन्दो दुई वटा कुरा महत्वपूर्ण छन् । फुन्दो भनेको कम्पनी मालिकले अब मसँग काम छैन भनेर निकालिएको लिखत हो । कुनै पनि मालिकले कामबाट निकालेको ९० दिनभित्रमा निवेदन दिन सकिन्छ ।

ले अफ अर्को पाटो भयो । जुन कम्पनीले काम हुँदाहुँदै कोभिड-१९ को कारण बन्द भएको छ, कम्पनीले कामबाट निकालेको छैन भने ७० प्रतिशत सरकारबाट र ३० प्रतिशत कम्पनीबाट कामदारलाई रकम दिनुपर्छ ।

तर तपाईले भनेजस्तो नेपाली व्यवसायी लगायत एसियन कम्पनीहरुले सो सामाजिक सुरक्षाको योजनाबाट नेपालीहरुलाई वञ्चित गराएकोबारे सम्पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन । तर, एक दुई जना साथीहरुले चिनियाँ कम्पनीले त्यसो गरेको भनी खबर गर्नुभएको थियो । त्यसबारेमा मैले तुरुन्त सम्पर्क गरेर कानुनी प्रक्रियासम्म जान सक्नेभन्दै सचेत गराएको थिएँ ।

कृषिक्षेत्रमा अहिले पनि काम चलिरहेको छ । यस्ता कम्पनी बन्द भएका छैनन् । सरकारले पनि बन्द गर्ने घोषणा गरेको छैन । त्यो बाहेक अन्य व्यवसाय बन्द छन् । यदि कसैले ले अफ दिन्न भनिरहेका छन् भने आवश्यक कानुनी पहल गर्न हामी तयार छौँ।

तत्काल एनआरएनले के गरेको छ ?

यो अवस्था अझै लम्बिनसक्ने मैले देखेको छु । मैले राजदूतसँग पनि यस विषयमा छलफल गरिसकेको छु । भोलि भयावह स्थिति आयो । भेदभाव हुनसक्ने अवस्था आयो । जस्तो पोर्चुगल सरकारले आफ्नो नागरिकलाई हेर्ने र नेपालीलगायत आप्रवासीलाई हेर्ने दृष्टिकोणमा फरक आयो भने नेपाल सरकारले आफ्ना नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्नेबारे पनि मैले जानकारी गराएको छु ।

अहिले तत्काललाई हामीले राहत बाँडिरहेका छौँ । तर यो अवस्था महिनौं लम्बिँदै जाँदा निरन्तरता दिन पनि अप्ठ्यारो पर्नसक्छ । हालसम्म दुई सय १० जनालाई खाद्यान्न वितरण गरेका छौँ । तर दीर्घकालीन सोचका लागि हामीले छलफल गर्दैछौँ । यहाँको राज्यबाट प्राप्त हुने सुविधाबारे पनि नेपाली समुदायलाई सूचित गराउने छौँ ।

(एनआरएन टकको पोर्चुगल बिशेष कार्यक्रममा बिहिबार साँझ एनआरएनए अध्यक्ष गैरेले राखेको विचारको सम्पादित अंश:)

यो पनि पढ्नुहोस् :- 

पोर्चुगलको खेतिमा काम गर्ने १० हजार बढी नेपालीहरुको अबस्था कस्तो छ ?

पोर्चुगलमा बिचौलियाबाट ठगिएको घटना भए दूताबासमा निबेदन दिनुहोस् !

पोर्चुगलमा नेपालीको अवस्था पीडादायी छ