स्पेनमा नयाँ संक्रमित र दैनिक मृत्यु हुनेको संख्यामा कमी


बार्सिलोना। स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिनमा मृत्यु हुनेको संख्या गत मार्च २३ यताकै कम देखिएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा स्पेनमा पाँच सय १० जना मानिसको कोभिड–१९ को कारण मृत्यु भएको हो । यससँगै स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १६ हजार तीन सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा चार हजार आठ सय ३० जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ६१ हजार आठ सय ५२ पुगेको छ ।

अहिलेसम्म स्पेनमा ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । स्पेनमा बिस्तारै कोरोना भाइरसका नयाँ संक्रमित र दैनिक मृत्यु हुनेको संख्यामा कमी आइरहेको देखिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने क्रममा रहेको बताइसकेका छन् ।