कोरोनाको प्रभाव:-साईप्रसका नेपालीहरु समस्यामा


कृप थापा,साईप्रस 

अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। चीनको वुहानबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ। तर युरोप र अमेरिका ईपीसेन्टरको रुपमा परिणत भएका छन्। विश्व स्वास्थ्य संगठनले “कोभिड १९”  लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

कोरोनाको प्रभावले साईप्रसका नेपालीहरु पनि प्रभावित बनेका छन्। अध्ययनका लागि आएका झन्डै ४ हजार बिद्यार्थीहरु यसको मारमा परेका छन्। घरेलुकामका लागि आएका हजारौ दिदीबहिनीहरु पनि कोभिड-१९ को प्रभावले बिचलित बनेको अबस्था छ। तर हालसम्म यहाँको नेपाली समुदायमा संक्रमण भेटिएको भने छैन। यहाँस्थित एनआएनए साईप्रस लगायत संघसंस्थाहरुले नेपालीहरुको हितमा राहात बितरणका कार्यक्रमहरु जारी राखेका छन्। यो निकै प्रशंसनिय रहेको छ। 

कोरोना नियन्त्रणका लागि यहाँस्थित ब्यबसायहरु ठप्प भएका छन्। फलस्वरूप अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुले समेत रोजीरोटी गुमाएका छन्। एकातर्फ कलेजको फि तिर्नको लागि जोहो गर्नुपर्ने अर्कोतर्फ घरभाडा र खानाबस्नमा नै समस्या देखिएको छ। आउने आयस्रोत नै बन्द भएपछि उनिहरु बिचलित बनेका छन्। 

दाङ घर भएकी एक नेपाली कृषीमा काम गर्दै आएकी थिईन्। अहिले कोरोना भाइरसको कारणले उनले काम गुमाईन्। एक बर्षको भिसा थियो। ६ महिनासम्म त काम गरिन् तर अहिले बेरोजगार बनिसकिन्। व्यवसाय नै बन्द भएपछि मालिकले पनि पैसा दिन नसक्ने भएपछि अहिले उनी साथीभाइसंग बस्दै आएकी छन्। 

झापा घर भएकी अर्का एक नेपालीको पिडा पनि उस्तै छ। साइप्रसमा घरेलु कामको भिसामा आएको दुई वर्ष भएको थियो। रोजगारदाताले उनलाई पनि घरबाट निकालिदिएको छ। भाईरस नियन्त्रण भएपछि मात्र काम दिने रोजगारदाताको भनाई छ। यत्रो महामारी कहिले नियन्त्रण होला र काममा फर्कनेबारे उनि चिन्तित छिन्। उनलाई अन्य दिदिबहिनिहरुले आँफूसँगै राखेर सहयोग गरेका छन्। 

फरक-फरक इन्टेकमा आएका विद्यार्थीहरुले कलेजलाई मोटो रकम बुझाउनुपर्ने हुन्छ। त्यसो नभए भिसा थपिदैंन। न त नेपालबाट पैसा मगाउने अबस्था छ। न त नेपाल फर्किने बाताबरण नै। उनिहरु निकै चिन्तित देखिन्छन्। साईप्रस सरकारले यहाँका आफ्ना नागरिकहरुलाई बिभिन्न सामाजिक सुरक्षाका योजना ल्याएर सहुलियत दिएको छ। तर बिदेशी बिद्यार्थीहरुको हकमा केहि पनि राहत प्याकेज छैन। 

एनआरएनए साईप्रस,अबैतानिक बाणिज्य दूताबास निकोसिया र नेपाली राजदूताबास इजरायलले कुटनितिक तवरबाट नै यहाँको सरकारलाई अनुरोध गर्न जरुरी छ। समस्यामा परेका आफ्ना नागरिकलाई सरकारले या त आँफूले हेर्न सक्नुपर्यो वा साईप्रस सरकारका लागि कुटनीतिक नोट लेखेर छिट्टै पहल गरिदिनुपर्यो भन्ने सबै पिडितहरुको एक मत हो। 

(लेखक साईप्रसमा बस्दै आएका छन्। उनका निजि बिचार हुन्। )