स्पेनमा कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो


स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार स्पेनमा समग्र संक्रमितको संख्या दुई लाख दुई सय १० पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र स्पेनमा चार हजार दुई सय ६६ नयाँ संक्रमित फेला परेका हुन् ।

स्पेन अमेरिकापछि दोस्रो सबैभन्दा धेरै संक्रमित फेला परेको मुलुक हो । स्पेनमा अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि २० हजार ८५२ पुगेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण तीन सय ९९ जनाको मृत्यु भएको हो । अहिलेसम्म स्पेनमा ८० हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।