पार्टी एकतालाई सुदृढ बनाऔं-प्रचण्ड


काठमाण्डौ -नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताउनु भएको छ ।

नेकपाको ७१ औं स्थापना दिवशको अवसरमा वुधवार एक प्रेस विज्ञप्ति जाारि गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने भएकोले यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि पनि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्नुभएको छ ।

कोभिड–१९ विरुद्ध एकतावद्व संघर्ष गरौं

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानवजातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको छ । सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा प्रचण्डले अपील गर्नुभएको छ ।

७१ वर्ष लामो राजनीतिक संघर्षको दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको प्रचण्डले बताउनु भएको छ । कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हाँसिल भएका छन् । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको बताउनु भएको छ ।

पार्टी एकताको महत्वलाई बुझौं

विज्ञप्तिमा लेखिएको छ ः“यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अँझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्दछु ।” प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने लक्ष्यसहित २२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीले ७१ औं वसन्तमा प्रवेश गरेको छ । “यस ऐतिहासिक दिनको अवसरमा प्रचण्डले सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण बेपत्ता र घाइते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु” प्रचण्डद्वारा जारि विज्ञप्तिमा लेखिएको छ ।