बिद्यार्थीका समस्याबारे प्रधानमन्त्री ओलीद्वारा साईप्रसका राष्ट्रपतिसँग टेलिफोन बार्ता,


बसन्त रानाभाट बार्सिलोना। प्रधानमन्त्री केपी शर्मा ओलीले साईप्रसका राष्ट्रपति निकोस अनास्तासिड़ेसँग टेलिफोन बार्ता गरेका छन्। अध्ययनका लागि साईप्रसमा आएका नेपाली बिद्यार्थीहरुले नेपाल सरकारलाई जहाज पठाईदेऊ घर फर्कन्छौ भनिरहेका बेला प्रधानमन्त्री ओलीले चासो ब्यक्त गरेका हुन्। उनले बुधबार दिउँसो राष्ट्रपति अन्थासिदेशसँग  आधा घण्टा टेलिफोन वार्ता गरेको साईप्रसलाई समेत हेर्दै आएको नेपाली राजदूताबास इजरायलले जनाएको छ। 

प्रधानमन्त्री ओलीले साईप्रसमा रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूकाे बारेमा आँफूले चासो राखेको बताएका छन्। सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री लेखेका छन्,”आज दिउँसाे साइप्रसका महामहिम राष्ट्रपतिसँग मेराे टेलिफाेन संवाद भयाे। त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूकाे बारेमा मैलेआफ्नाे चासाे राखें। उहाँले नेपालीहरूकाे उपयुक्त हेरविचार भइरहेकाे र कुनै अप्ठेराेमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयाे।”

नेपाली राजदूताबास ईजरायलको संयोजनमा नै दुईपक्षिय फोनबार्ता भएको उपनियोगप्रमूख अर्जुन घिमिरेले अनलाईनखबरलाई बताए। उनले भने,” कोभिड-१९ सँगै साईप्रसमा रहेका नेपालीहरुको समस्याबारे छलफल केन्द्रित भएको थियो। दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन पहिलो पटक ऎतिहासिक संबाद भएको छ। यसबारेको प्रेस बिज्ञप्ति परराष्ट्रमन्त्रालयले नै जारी गर्नेछ।”

साइप्रस आएका झण्डै ५ देखि ७ हजार विद्यार्थीहरुलाई अहिले खानबस्न नै समस्या देखिएको छ । त्यसैले ठूलो संख्यामा नेपाली विद्यार्थीहरुले घर फर्कने इच्छा व्यक्त गरेको एनआरएनए साइप्रसले जनाएको छ । लकडाउनका कारण बेरोजगार बनेपछि उनीहरुलाई समस्या परेको हो । दैनिकजसो विद्यार्थीहरुले एनआरएनमा सम्पर्क गरेर नेपाल फर्कने इच्छा ब्यक्त गर्दै आएका छन्। 

घरेलु कामका लागि आएका नेपालीहरुसहित साइप्रसमा झण्डै १२ देखि १५ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।