एनआरएनका कारण मुलुक भयावह बनोस् भन्ने चाहादैनौ:-अध्यक्ष पन्त 


बार्सिलोना। गैर आबासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले आँफूहरुका कारण मुलुक भयावह बनोस् भन्ने चाहाना नरहेको बताएका छन्। विदेशबाट अलपत्र नेपालीहरुलाई घर फर्काउनेबारे बहस चलिरहेका बेला अध्यक्ष पन्तले आँफूहरु मुलुकका लागि अत्यन्तै संबेदनशील रहेको बताएका हुन्। 

अनलाईनखबरसँग कुराकानी गर्दै पन्तले भने,”बुढा बाआमा बस्नु हुन्छ। हामीपनि संबेदनशिल छौ। हाम्रो कारणले मुलुकमा झन् भयावह बनोस् भन्ने चाहादैनौ। तर नेपाली नागरिकहरु बाहिर बस्नै नपाउने,खानै नपाउने र भोकै मर्ने स्थितिमा राज्यले संरक्षण गर्नुपर्छ।” नेपाल फर्किएर सरकारले तोकेको मापदण्डमा बस्न गैर आबासीय नेपालीहरु तयार हुनुपर्नेमा पनि अध्यक्ष पन्तले जोड दिए। 

विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन एनआरएनले नेपाल सरकारसँग पटक-पटक छलफल गर्दै आएको बारेपनि उनले स्पष्ट पारे। श्रमिक र बिद्यार्थीहरुको अबस्थालाई हेरेर सरकारले आवश्यक कदम चाल्नेमा आँफू बिश्वस्त रहेको बताए। 

कोभिड-१९ को प्रभावले प्रबासमा रहेका नेपालीहरुको अबस्था जटिल बन्दै गएको भन्दै अध्यक्ष पन्तले भने,”संघको क्षमतालेमात्र धानिराख्न्न ग्राह्रो छ। अहिलेसम्म ४ करोड रुपैयाँ बराबर राहत सामग्री बितरण भएका छन् ,अझै करौडौं रुपियाँ खर्च गर्नुपर्ने देखिएको छ।”

रोजगारदाता कम्पनीहरुले रोजगारी दिन नसक्ने बताईसकेपछि ठुलो संख्यामा श्रमिकहरु घर फर्कन बाध्य भएको बताउदै उनले बिद्यार्थीहरुलाई अहिले खानाबस्न,घरभाडा तिर्न समस्या देखिएको बताए। 

“बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको उद्वारका लागि बनेको कोषमा झन्डै १२ अर्व रुपैयाँ संकलन छ। तत्काल १० देखि १२ करोड रुपैयाँ बिनियोजन गर्ने श्रम मन्त्रालय सहमत छ। परराष्ट्र र अर्थ मन्त्रालयको पनि स्वीकृत चाहिने हुँदा पहल भईरहेको छ।” अध्यक्ष पन्तले भने।