लोक दाहालले बेल्जियम,स्पेन र पोर्चुगलमा ७ हजार मास्क बितरण गर्ने,


बार्सिलोना। बेल्जियम निबासी ब्यबसायी लोकप्रसाद दाहालले नेपाली समुदायलाई सर्जिकल मास्क निःशुल्क बितरण गर्ने भएका छन्। चीनबाट आफ्नै ब्यक्तिगत खर्चमा ७ हजार मास्क खरिद गरेका दाहालले युरोपका नेपालीहरुलाई मास्क बितरण गर्न लागेका हुन्। दाहाल गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष समेत हुन्।

उनले व्यक्तिगत खर्चमा ३ हजार १ सय युरो खर्च गरेर सिधैं चीनबाट बेल्जियमा मास्क झिकाएका थिए। एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष समेत रहेका दाहालले अप्रिल १४ तारिखमा मास्कहरु ब्रसेल्स आईपुगेको भएपनि चेकजाँच र सोधपुछपछि भर्खर प्राप्त भएको बताए। उनले भने,” यस प्रक्रियामा बेल्जियमको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठुलो सहयोग मिल्यो। मुख्यत: नेपाली समुदायका लागि बितरण गर्ने भनी ईमेल पठाएपछि मात्र हामीलाई प्राप्त भएको छ।”

संकटको घडीमा आफ्नै खर्चमा स्वास्थ्य सामग्री खरिद गरेपनि प्राप्त गर्न जटिल रहेको दाहाल बताउँछन्। उनले बेल्जियमका लागि ५ हजार तथा स्पेन र पोर्चुगलका लागि एक-एक हजार मास्क पठाईदिने प्रतिबद्वता ब्यक्त गरेका छन्।

अति आबश्यकता भएकाहरुलाई छनोट गरेर मात्र बितरण गरिदिन पनि उनले समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन्।