पोखरामा स्यानिटाइज टनेल विस्तारमा तिव्रता


कास्की – गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ स्यानिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ ।


मानिसको हातमा मात्रै लगाउने गरिएको स्यानिटाइजरका विकल्पमा पूरै शरीर नै स्यानिटाइज गर्नेगरी अहिलेसम्म पोखराका पाँच ठाउँमा स्यानिटाइजर टनेल स्थापना गरी सञ्चालनमा आइसकेको छ ।

पोखरा महानगरपालिकाबाट सुरु गरिएको स्यानिटाइज टनेल राख्ने कार्य यसबीचमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, जिल्ला प्रहरी कार्यालय कास्की तथा कास्की र तनहुँको सीमामा रहेको मजुवामा स्थापना गरिसकिएको छ ।

महानगरपालिकाभित्र आवश्यकतानुसार बढी सर्वसाधारणको चाप हुने ठाउँलाई लक्षित गरी प्राथमिकताका आधारमा स्यानीटाइज टनेल विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो ।

‘उपचारको विधि पत्ता नलागेका अवस्थालाई ख्याल गर्दै लकडाउन गरिएको हो’, उहाँले भन्नुभयो, ‘सङ्क्रमण फैलिन नदिनका लागि ठाउँ ठाउँमा सचेत बन्नुपर्ने अवस्थालाई दृष्टिगत गरी यसको रोकथामका लागि टनेल विस्तार गरेका हौं।’

साबुनपानीले हात धोएर स्यानिटाइजर लगाउँदा हात मात्रै सङ्क्रमण मुक्त हुने भएका अवस्थामा टनेलको प्रयोगसँगै पूरै शरीर नै स्यानिटाइज हुने उहाँले बताउनुभयो । उहाँले यी मेसिनहरूमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यसैबीच आइतबार पोखरा महानगरपालिकाको सहयोगमा वडा नं-९ शान्तिवनमा रहेको कृषि उपज बजार केन्द्रमा स्यानिटाइज टनेल राखिएको छ ।

पोखरा विश्वविद्यालयका प्राविधिकले तयार गरेको यो टनेलको मूल्य एक लाख रुपैयाँ रहेको छ । विश्वविद्यालयका इन्जिनियर विनोद भट्टराईका अनुसार यो मेसिनमा स्वचालित स्प्रे रहेको छ । यो मेसिनका लागि निरन्तर सञ्चालनका लागि विद्युत् अपरिहार्य भएका कारण विद्युत्को विकल्प पनि सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखराकै तरकारी एवं फलफूलको मुख्य बजारका रुपमा रहेको यहाँ दैनिक एक हजारभन्दा बढी सर्वसाधारण आवतजावत गर्ने गरेको बजार व्यवस्थापन समितिका सदस्य विष्णु बाँस्तोलाले जानकारी दिनुभयो ।

‘दैनिक ठूलो सङ्ख्यामा सर्वसाधारणको आवतजावत हुने यस केन्द्रमा स्यानीटाइज टनेल अपरिहार्य थियो’, उहाँले भन्नुभयो, ‘सम्भाव्य सङ्क्रमणबाट जोगिनका लागि यो निकै महत्वपूर्ण बन्ने विश्वास लिएका छौँ ।’

उहाँका अनुसार ४६ रोपनी क्षेत्रफलमा विस्तारित केन्द्र परिसरमा १५० वटा पसलकवल छन् । जसमध्ये ६३ वटामा फलफूल, ६५ वटामा तरकारी, नौवटामा कृषकका स्थानीय तरकारी तथा फलफूलजन्य उत्पादनका पसल र १३ वटा आलु प्याजका पसल रहेका छन् । यस केन्द्रमा स्थानीय उत्पादनसँगै मित्रराष्ट्र भारत र नेपालका धादिङ, चितवन, पालुङ, सर्लाहीको लालबन्दीलगायतका ठाउँबाट तरकारी तथा फलफूल आउने गर्छ ।

‘सर्वसाधारणको अत्याधिक आवतजावत हुने उक्त केन्द्रमा राखिएको टनेलले मानिसको पूरै शरीरलाई स्यानीटाइज गर्छ । टनेलबाट छिरेसँगै मेसिनले कपडामा भएको भाइरसलाई समेत मार्ने काम गर्छ । कोरोनाको महामारी लम्बिन सक्ने भएकाले सावधानी र प्रविधिबाट यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंँल्याउँदै महानगर प्रमुख जिसीले भीडभाड हुने सरकारी कार्यालय, अस्पताल, डिपार्टमेन्ट स्टोर्सलगायतमा पनि टनेल जडान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर जानुपर्ने सोच महानगरले बनाएको उहाँको भनाइ छ । कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष छेबाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकामा आभार व्यक्त गर्नुभयो ।

महानगरपालिकाले यसअघि पनि पूरै केन्द्र परिसरमा कीटनाशक औषधिबाट स्प्रे गरेको स्मरण गर्दै लामाले केन्द्रका तरकारी तथा फलफूलको आयात तथा निर्यातलाई सुरक्षित बनाउनेतर्फ आफूहरू गम्भीर भएको धारणा राख्नुभयो ।

पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाको समूहले टनेल निर्माण गरेका हुन् भने महानगरमा नेपाल इन्जिनिरिङ एशोसिएसन गण्डकीको टिमले निर्माण गरेको हो । रासस