गण्डकी प्रदेशका सबै जिल्लामा आईसीयु कक्ष स्थापना गरिने


पोखरा – गण्डकी प्रदेशका सबै जिल्लामा सघन उपचार कक्ष (आईसीयु) स्थापना गरिने भएको छ । २०७७ सालको आज (मंगलबार) बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका ११ जिल्लाका सामुदायिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयु) स्थापना गर्ने निर्णय गरेको हो।
सरुवा रोग सहितका अन्य गम्भिर बिरामीहरुको उपचारमा आवश्यक पर्ने आइसियू कक्ष धेरै जिल्ला अस्पतालमा नभएकोले यसै आर्थिक बर्ष भित्र स्थापना गर्ने भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जनाए । उनका अनुसार प्रदेशका मनाङ र मुस्ताङ जिल्लामा दुई÷दुई बेडको आइसीयु कक्ष अन्य जिल्लामा ४÷४ बेडका आइसीयु कक्ष स्थापना गरिने भएको छ ।

यसको लागि प्रदेश सरकारले एक हप्ता तथा १५ दिनको टेण्डर समेत आव्हान गर्ने भएको उनले जनाए । उक्त आइसीयु कक्ष स्थापना गर्न प्रदेश सरकारले १४ करोड रुपैया विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ ।भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रवक्ता बस्नेतले नयाँ बर्षमा पहिलो पटक बसेको बैठकले उक्त निर्णय सहित ५ निर्णय गरेको जनाएका हुन्। कोरोना भाइरस नियन्त्रण तथा उपचारमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, नर्स तथा कर्मचारीको लागि जोखिम भत्ता हाल खाइपाई आएको तलवमा शतप्रतिशत थप गर्ने निर्णय भएको उनले बताए ।

साथै जोखिम मोलेर काम गर्नुपरेकोले उनीहरुको थप जोखिम बहन गर्न प्रदेश सरकारले ३० लाखसम्मको जिवन बिमा समेत गराउने भएको प्रवक्ता बस्नेतले जनाए । उपचारमा संलग्न स्वास्थ्यकर्मी जनशक्तिलाई उपचार गर्दा लाग्ने सबै खर्च पनि प्रदेश सरकारले व्यहोर्ने भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी ५ सदस्यीय गण्डकी प्रदेश स्वास्थ्य विमा संयोजन समिति समेत गठन गरिएको छ । गण्डकी प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्च वर्षीय योजना स्वीकृतिका लागि सिफारिस गरेकोमा सा ेको मन्त्रि परिसषद्ले स्वीकृति समेत गरेको छ ।