बलिउड नायक ऋषि कपुरको निधन


पोखरा – हिजो मात्रै अभिनेता इरफान खानलाई गुमाएको बलिउडले आज अर्को हस्ती ऋषि कपुरलाई पनि गुमाएको छ । बलिउड नायक ऋषि कपुरको बिहीबार निधन भएको हाे । उनले ६७ वर्षको उमेरमा मुम्बईको सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा अन्तिम सास फेरेका थिए । २०१८ मा क्यान्सर पुष्टि भएपछि एक वर्ष न्युयोर्क मै बसेर उपचार गराएका कपुरको मृत्युको कारण ल्युकेमिया भएको जनाइएको छ । उनको परिवारले बिहीबार जारी गरेको एक पत्रमा बिहान ८:४५ बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ ।
आफ्ना धेरै जसो चलचित्रमा रोमान्टिक चकलेटी नायकको चरित्र निभाएका ऋषि कपुरले सन् १९७३ देखि २००० सम्म ९२ चलचित्रमा प्रमुख भुमिकामा अभिनय गरेका थिए । सन् १९७० मा मेरा नाम जोकर नामक चलचित्रमा बालकलाकारको भुमिका निभाएर अभिनय जगतमा उदाएका कपुरले आफ्नो पहिलो चलचित्रमै फिल्म फेयर अवार्ड हासिल गर्न सफल भएका थिए । उनको अभिनय जीवनको एक मुख्य टर्निङ पोइन्ट मानिएको बबी चलचित्रमार्फत उनले उत्कृष्ट अभिनेताका लागि अर्को फिल्म फेयर हात पारे । उनका प्रख्यात चलचित्रहरुमा सरगम, बोल राधा बोल, बबी, अमर अकबर एन्थोनी, लैला मज्नु, डि-डे, मुल्क लगायत रहेका छन् । पछिल्लो समयमा पनि उनले थुप्रै चलचित्रमा ससाना भुमिका निर्वाह गर्दै आएका थिए । उनको पछिल्लो चलचित्र द बडी रहेको थियो भने हलिउडको एक चलचित्रको हिन्दी रिमेकमा भविष्यमा अभिनय गर्ने उनको कार्यक्रम थियो ।

उनको मृत्यु पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न व्यक्तित्वहरुले शोक व्यक्त गरेका छन् । कपुरको परिवारमा उनकी अभिनेत्री श्रीमती नितु कपुर सहित एक छोरी र एक छोरा रहेका छन् । उनको छोरा रणवीर कपुर पनि बलिउड कै नायक हुन् ।