बिग आईकन सम्पूर्ण तयारी पूरा, मह जोडीको प्रमुख आतिथ्यता


रेम बिक पोखरा, ६ भदौ –

शनिबार हुने सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनको ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पुरा भएको छ । चर्चित हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने ग्राण्ड फिनाले भव्य र सभ्य हुने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिएका छन् ।
शनिबार हुने ग्राण्ड फिनालेको कार्यक्रम करिब तीन घण्टासम्म चल्नेछ । कुन्साङ गुरुङ, ल्हामो डोल्कर, सन्दीप ढुंगाना र राम लिम्बु पाँचौ सँस्करणको विग आइकनका फाईनलिस्ट हुन् ।  उपाधी होडमा लागेका उनीहरुसंगै भोली उत्कृष्ट १० प्रतिस्पर्धीहरुको समेत प्रस्तुती रहनेछ ।
फाईनल सम्म पुगेका प्रतिस्पर्धीहरुले विग आईकनको उपाधी हुत्याउने होडमा आ–आफ्नै तरिकाले भोट मागिरहेका छन् । यता विग एफएमले कार्यक्रम हुने स्थान पोखरा सभागृहलाई पुरै श्रृंगारपटार गरेर झकिझकाउ पारेको छ । ‘हाम्रो वार्षिकोत्सवसंगै हुने यो ग्राण्ड ईभेन्ट ऐतिहासिक हुनेछ ।’ एफएमले भनेको छ ।
यो पटक विग आईकनमा ५० जिल्लाका ८ सय ९० प्रतिस्पर्धीहरुले आवेदन फाराम भरेका थिए । करिब दुई महिनासम्मको निरन्तर अडिसनपछि चार जना फाईनलका लागि छानिएका हुन् ।
बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।