नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीका अनुसार नेपालगन्जका ३ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरुमा पुरुषको उमेर २२, ३०, ४० वर्ष तथा महिलाहरुको उमेर ०९, ३२, ३४ र ५५ रहेको जनाइएको छ । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो ।संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि जनाइएको छ ।
नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १५ जना उपचारपश्चात घर फर्किसकेका छन् ।