नेपालमा थप १७ जना कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो


काठमाण्डाै – नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
बुधबार कोरोना संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् । ७ जना महिला र १० जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नेपालमा हालसम्म ९९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २२ जना निको भएर घर फर्केकोमा ३ जनामा कोरोनाको पुनः संक्रमण देखा परेको छ ।