कोभिड-१९: नेपालमा कडा लकडाउन फेरि गर्नुपर्ला ?


  • डा बिनय श्रेष्ठ, स्विटजरल्याण्ड

नेपालले कोभिड-१९ को नियन्त्रणका सन्दर्भमा आत्मविश्वास प्रदर्शित गर्दैछ। डेढमहिना अघिदेखि लगाईएको लक डाउनलाई खुकुलो बनाएको छ । जुन नेपालको हालको कोभिड १९ को तथ्याङक एवं सामाजिक-आर्थिक अवस्थामा जायज देखिन्छ । आजको मितिसम्म नेपालमा जम्मा १ सय १० जनामा कोरोना भाईरसको संक्रमण देखिएकोमा ३१ निको भईसकेका छन्। यसअनुसार नेपालमा ७९ जना मात्रै एक्टिभ कोरोना संक्रमितहरु छन् । आशा गरौं, यो रोग नेपालमा न फैलियोस् । तरपनि, यसको नियन्त्रणमा अझैपनि थप तयारीको आवश्यकता छ । 

अबको हाम्रो उदेश्य भनेको यो संक्रमणको डबलिङ टाइमलाई (संक्रमणको संख्या दोब्बर हुन लाग्ने समय) सकेसम्म १० वा १० दिनभन्दा बढि राख्ने हुनुपर्दछ। जुन अहिलेसम्मको नेपालको तथ्याङक हेर्दा सम्भव देखिन्छ । उदाहरणको लागि यदि डबलिङ टाईम १० दिन वा  बढि राख्न सकिएमा ७९ जनाबाट अबको दश दिनपछि संक्रमितहरुको संख्या बढेर दोब्बर, यानेकि १ सय ५८ हुनेछ ।

यस आंकलन अनुसार हरेक १० / १० दिनमा यो संख्या बढेर दोब्बर हुनेछ (आशा छ, सत्य नहोस्) र अबको ६ हप्तापछि नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ६४ पुग्ने छ। यि मध्ये १० देखि १५ प्रतिशतलाई अस्पताल भर्ना गरेर र अन्यलाई घरमै आईसोलेसनमा राखैर उपचार गर्न सकिने देखिन्छ । साथै नेपालकै तथ्याङक हेर्दा संक्रमितमध्ये २५ देखि ३० प्रतिशतमा यसै समयाबधिमा रोगको निदान हुने देखिन्छ । यहाँ उल्लेखित १ हजार २ सय ६४ को १५ प्रतिशत भनेको १ सय ९० जना संक्रमितहरु हुन्। जसलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । यो संख्यामा बिरामीहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव हुने नेपालको अहिलेको अनुभवले देखाएको छ । अस्पतालहरूले बिरामीको यो संख्यात्मक चापलाई थेग्न सक्ने देखिन्छ । त्यसैले संक्रमण दोब्बर हुने समयलाई १० वा १० दिनभन्दा बढि बनाउन सकिएमा सम्भवत: नेपालमा फेरि  कडा लकडाउनको आवश्यकता पर्ने छैन ।अझ यसलाई १४ दिन भन्दा बढि बनाउन सकिएमा यो सम्भावना बढनेछ । तर, यो दोब्बर हुने समय ५ वा ५ दिनभन्दा कम भएमा आउने ६ हप्तामा फेरी कडा लकडाउनको आवश्यकता पर्न सक्छ ।

त्यसैलै सामाजिक दूरी र सरसफाईका उपायहरूको अहिलेको अवस्थामा पहिलेकोभन्दा बढि आवश्यकता छ । साथै, उच्च जोखिमभएका ब्यक्तिहरुलाई सुरक्षित राख्न सक्यौं भने मृत्यु दरलाई निरन्त्रण गर्न सकिनेछ । यसरी कोरोनाको प्रभावलाई न्युनिकरणगर्दै कडा लकडाउनबाट हामी बच्न सक्छौं । खुकुलो लकडाउनको अहिले आवश्यकता छ । सर्वसाधरणका पारिवारिक, सामाजिक, आर्थिक एवं स्वास्थ्य आवश्यकता केहि हदसम्म भनेपनि यस समयमा पुरा हुने छन् । यसले जनमानसबीच आत्मविश्वास विकास गर्नेछ । 

त्यसैले, मेरो विचारमा नेपालमा कोभिड १९ बाट संक्रमितहरु को संख्या २ हजार / २ हजार पाँच सयभन्दा बढी  र डबलिङ टाईम ७-१० दिन भन्दा कम भयो भने प्रभावकारी लकडाउनको आवश्यकता पर्दछ । त्यसैले सामाजिक दूरी र सरसफाईका उपायहरुको पालना गरौं।कडा लकडाउन सहि समय र सहि अबधिकोलागि संचय गरौं।यसका लागि मानसिक रुपमा तयार बसौं ।