नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो


पोखरा – नेपालमा सोमबार बेलुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि सोमबार विहान ११ जनामा कोरोना संक्रमण देखिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । याे सगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।