कोरोना पिडितका लागि एनआरएनए युरोप क्षेत्रमा ३७ लाख रुपैयाँ संकलन


बार्सिलोना। कोरोना भाइरस (कोभिड १९) बाट पिडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा करिव ३७ लाख रुपैयाँ संकलन भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा दुई साता भित्र सो रकम संकलन भएको हो। 

समितिका सदस्य सचिव रामशरण सिमखडाका अनुसार संघको खातामा युरोप क्षेत्रबाट करिव ३७ लाख रुपैयाँ संकलन भएको छ। ‘ भर्खर काम शुरु गरेका छौं सहयोग आउनेक्रम जारीनै छ। संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ।” उनले भने। 

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समन्वय परिषदहरुले सहयोग गरेका हुन् ।

यसैबीच कोरोना प्रभावित युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैर आबासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो।

संघले स्पेन र पोर्चुगललाई पाँच पाँच हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन तीन हजार डलर छुट्टाएको छ।पहिलो चरणमा साईप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो।

यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना बिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।