दरबारथोक टोलमा वाहिरी व्यक्तिलाई प्रवेश निषेध


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा अवस्थित दरबारथोक टोललाई लकडाउन अवधिभर बाहिरी व्यक्तिलाई टोल प्रवेशमा रोक लगाउने भएको छ ।

टोलवासीलाई कोरोना महामारीबाट वचाउन शनिबार दरबारथोक टोल विकास संस्थाले आव्हान गरेको आकस्मिक भेलाले सो निर्णय गरेको टोल विकास समितिका अध्यक्ष पुर्णबहादुर भुजेलले वताए ।

भेलामा वडा नं. ९ का वडा सदस्य सुरेश खवासले आफ्नो सुरक्षाको लागि आफैले टोलमा अत्यावश्यक सेवाका सवारी साधन तथा व्यक्ति बाहेक अन्यलाई प्रवेशमा रोक लगाउन सकिने वताएका थिए।

भेलाले टोल प्रवेशका ५ नाका पहिचान गरी एक जना संयोजक सहित विहान ६ वजेदेखि साँझ ७ वजेसम्म टोलको नाकामा टोलवासीले पहरा दिने निर्णय गरेका नयाँ सडकतर्फको नाकाकी संयोजक विना श्रेष्ठले वताईन ।

पोखराको मुख्य वजार क्षेत्रमा रहेको यस टोलमा भारत तथा नेपालका तराई मुलका धेरै मजदुरहरु वसोवास गर्ने र कुनै पनि वेला उनिहरु यस टोलमा प्रवेश गर्न सक्ने भएकोले आफ्नो टोलको सुरक्षा आफैले गर्नुपरेको चण्डि माई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेल, टोलका सल्लाहकार विरबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुर्यभक्त सिग्देल, स्थानीय श्याम राना, सुनिता कोइरालालगाएतको धारणा रहेको थियो ।

केही टोलवासीहरुले यसलाई खासै आवश्यक नभएको वताए पनि धेरैले बाहिरी अनावश्यक व्यक्तिहरुको टोलमा प्रवेशमा कमि आउने प्रतिक्रिया दिएका छन् ।