युके फाउण्डेशनको सहयोगमा पोखरामा राहत वितरण



पोखरा – विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ कारण विश्वभर जनजीवन अस्तव्यस्त छ । नेपालमा समेत कोभिड १९ का कारण सर्वसाधरणको दैनिक जीवनीमा प्रभाव परेको छ । गत चैत्र ११ गतेबाट नेपालमा सुरु भएको लकडाउन निरन्तर जारी छ । पछिल्लो जेठ २० गतेसम्म जारी रहने तय भएको लकडाउन कहिले खुल्ने अझै अन्यौल नै छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या नेपालमा बढ्न थालेको छ । निरन्तर जारी लकडाउनका कारण दैनिक रुपमा मजदुरी गर्दै जिविकोपार्जन गर्दै आएकाहरु समस्यामा परेका छन् । यसरी समस्यामा परेकाको सहायता गर्न पोखराका कलाकार जुटेका छन् । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखराका कलाकार यतिबेला समस्यामा परेकालाई राहत बाँड्न सक्रिय बनेका हुन् । यसको व्यवस्थापन पोखरा सांगीतिक कलाकार संघले गरेको छ ।

संघमा पोखरामा क्रियाशिल सांगीतिक क्षेत्रका कलाकार आवद्ध छन् । राहात लिएर कलाकार आफु भएको ठाउँमा पुग्दा लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारको मुहारमा खुशी छाएको छ ।
गरिब, निमुखा तथा अपाङ्गता भएकाहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष सुनिल थापाले बताए ।
यसैक्रममा पोखरा सांगीतिक कलाकार संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा तेस्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा वडा नम्बर १० र वडा नम्बर १५ क्षेत्रका अपाङ्गता भएका तथा विपन्न व्यक्तिका परिवारलाई राहत वितरण गरेको अध्यक्ष थापाले जनाए ।


३० जना अपाङ्गता भएका व्यक्ति तथा १७ जना अति विपन्न व्यक्तिलाई गरी कुल ४७ घर परिवारलाई उनीहरुको घरघरमै पुगेर राहत वितरण गरिएको गायक कर्णदासले बताए ।
खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ । राहतमा १० देखि २० किलो सम्म चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको गायक भाइ गुरुङले जनाए ।


रामबजार क्षेत्रको व्यवस्थापन गायक आनन्द बज्राचायले गरेका थिए । उनले स्थानिय र जनप्रतिनिधीसंग सहकार्य गरि राहत पाउनुपर्ने अपाङ्गता भएका परिवारको पहिचान गरेको बताए ।
राहत वितरण कार्यक्रममा गायक कर्णदास, भाइ गुरुङ, विनोद वानिया, भाष्करध्वज श्रेष्ठ, आनन्द बज्राचार्य, शान्त बज्राचार्य, संगीतकार सुनिल थापा, तेज केसी, तिल गुरुङ्ग, बसन्त थापा र गीतकार राजेन्द्र अधिकारी सहभागी थिए ।


यसअघि संघले पोखरा–६ लेकसाइडको जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवार गरि ५३ परिवार तथा पोखरा महानगरपालिका –३, नदिपुर कोपिलढुङ्गाका ७० प्रतिशत दलित सहित ५२ अति विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ र जगत गुरुङको पहलमा पोखरा सांगीतिक कलाकार संघले राहत वितरण गरेको हो ।