कांग्रेसको जुम वैठक सम्पन्न, ८ वुँदे निष्कर्ष र निर्णय सार्वजनिक


पोखरा- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको दुई दिने पूर्ण बैठक अनलाइन जुमको माध्यमबाट सम्पन्न गरी ८ वुँदे निष्कर्ष र निर्णयहरुलाई आज सार्वजनिक गरेको छ । प्रतिष्ठानले यही १५ गते गणतन्त्र दिवसलाई “सबै समस्या समाधानको मार्ग लोकतन्त्र” भन्ने नाराकासाथ मनाउने निर्णय गरेको छ ।

जेष्ठ ६ र ७ गते प्रतिष्ठानले जुम प्रविधिलाई पहिलो पटक प्रयोग गर्दै दुई दिने वैठक सम्पन्न गरेको हो । बैठकको अध्यक्षता प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेस केन्द्रीय समितिका उपसभापति विमलेन्द्र निधिले गर्नुभएको थियो । दुई दिन गरेर सात घण्टा चलेको वैठकमा दार्चुलादेखि झापासम्मका ३४ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिष्ठान प्रमुख निधिले नागरिकहरुको मौलिक अधिकारका रुपमा संविधानले सुनिश्चितता गरेको हुनाले महामारीको समयमा नागरिकहरुको स्वास्थ्यप्रति सरकार नै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । जहाँ बसेका भएपनि स्वदेश फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्कन सरकारले नै सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कोरोनाको कठीन समयमा अग्रस्थानमा रहेका चिकित्साकर्मी, सहयोगी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सञ्चारकर्मीहरुको कार्यको प्रशंसा गर्दै निधिले उनीहरुको स्वास्थ्यको सुरक्षाका साथ राज्यले विशेष प्रोत्साहन प्याकेज तयार गर्न जरुरी भएको बताउनु भयो ।

प्रतिष्ठान बैठकले कोरोना संक्रमण र त्यसले पारेको असर, पोष्ट कोरोना समय, आगामी दिनमा प्रतिष्ठानले गर्ने प्रशिक्षण शैली, प्रविधिको प्रयोग, पाठ्यसामग्री प्रकाशन, नेपाली राजनीतिमा उत्पन्न परिस्थिति, सीमानाको प्रश्न, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, प्रत्युत्तरक्रममा प्रधानमन्त्रीले संसदमा प्रकट गरेको विचार लगायतका विविध विषयमा छलफल गरेको छ ।

बैठकको उद्देश्य सहित विषय प्रस्तुति प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पुरुषोत्तम दाहालले गर्नुभएको थियो । बैठकमा आफ्नो विचार प्रस्तुत गर्नुहुने सदस्यहरुमा— डा। आरजु राणा देउवा, मनोहरनारायण श्रेष्ठ, रञ्जित कर्ण, गणेश मण्डल, डा। जगदीशचन्द्र पोख्रेल, डा। गोविन्दराज पोखरेल, खिलानाथ दाहाल, केशव निरौला, डा। प्रभु बुढाथोकी, छन्दबहादुर पहराई, डा। कुसुमाकर न्यौपाने, राजु नेपाल, गेजा शर्मा वाग्ले, प्रमोदहरि गुरागाई, मोतीराज वम, भद्रा भण्डारी, डोल्मा तामाड।, नानुमैयाँ वाँस्तोला, प्रसिस महरा, कृष्णबहादुर रोकाया, कमला लामिछाने, भगीरथ पोद्दार, दीपक अधिकारी, योगराज कंँडेल, लालबहादुर पुन, रामजी कँंग्रेन, मदन कट्टेल, नारायण सापकोटा, वीरेन्द्र साह, शम्भु जोशी र डा।सुस्मा तिवारी हुनुहुन्थ्यो । आमन्त्रित रामजी दाहालले संचारको भूमिका र आवश्यकता तथा ई।दीपेश विष्टले प्रविधिको उपयोग सम्बन्धमा विचारहरु प्रस्तुत गर्नुभएको थियो । प्रवक्ता शर्माले समसायमयिक विषय सहित नेपाली कांग्रेसका गतिविधिहरुको जानकारी दिनुभएको थियो ।

बैठकमा नेपाली कांग्रेसका प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, आमन्त्रित रामजी दाहाल तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका पूर्व महासचिव ई. दीपेश विष्ट समेत सहभागी हुनुभएको थियो । उहाँले नै प्राविधिक सहजीकरण गर्नुभएको थियो ।