ला लिगा ८ जुनबाट सुरु हुन सक्छ:- प्रधानमन्त्री सान्चेज


बार्सिलोना। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनदेखि फेरि सुरु हुन सक्ने बताएका छन् । यसअघि ला लिगा अध्यक्ष ज्याभिएर तेबासले स्पेनको शीर्ष डिभिजन फुटबल ला लिगा १२ जुनदेखि फेरि सुरु हुन सक्ने आशा राखेका थिए ।यद्यपि खेल सुरु हुने मिति भने अझै तय भइसकेको छैन ।

ला लिगाका खेलाडीहरुले १० जनाभन्दा कम खेलाडीको समूह बनाएर ट्रेनिङ सुरु गरेका छन् ।प्रधानमन्त्री सान्चेजले स्पेनले गर्नुपर्ने काम गरिसकेको र सबैको लागि नयाँ सीमा खुल्ला भएको बताए । उनले अब दैनिक गतिविधि फेरि सुरु गर्ने समय आएको बताए । ‘८ जुन देखि ला लिगा फेरि सुरु हुन्छ,’ सान्चेजले भने ।यस्तै स्पेनको दोस्रो श्रेणीको फुटबल पनि ला लिगासँगै सुरु गर्ने तयारिमा छ ।

ला लिगा अध्यक्ष तेबासले यस निर्णबाट धेरै खुशी भएको बताए । उनले खेलाडी प्रशिक्षक क्लब नेशनल स्पोर्ट्स काउन्सिल र एजेन्ट्सको कडा मिहिनेतले यो नतिजा आएको बताए ।उनले अहिले कोभिड-१९ को महामारीका बेला सहयोग गर्नेहरुलाई पछि पार्न नहुने बताए । यस्तै महामारी फर्कने छैन भनेर पक्का गर्न स्वास्थ्य नियमहरु पालना गर्नु महत्वपूर्ण भएको बताए ।