वीरगञ्‍जमा एकै दिन ४३ जना कोरोना निको भएर घर फर्किए


१२ जेठ, वीरगञ्ज । कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकैदिन ४३ जना डिस्चार्ज भएका छन् ।

दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर सोमबार डिस्चार्ज भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । डिस्चार्ज हुनेमा २ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । जसमध्ये ४१ जना पर्साका छन् भने सर्लाही र भारतका एक/एक जना रहेका छन् ।

४३ जना एकै पटक डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए । वीरगञ्जकै गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् ।

७२ जना संक्रमित निको भए

वीरगञ्जबाट सोमबारसम्म ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमित कोरोना निको भएर घर फर्किएका थिए भने जेठ १० गते ९ जना संक्रमित डिस्चार्ज भएका थिए । जसमध्ये दुई जना पुनः संक्रमण देखा परेर भर्ना भएका व्यक्ति थिए ।

यस्तै वैशाख १४ गते ४ जना संक्रमित डिस्चार्ज भएका थिए । तर दुई जनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

निको हुनेमा ४ महिने शिशुदेखि ६६ वर्षे वृद्धसम्म

वीरगञ्जबाट कोरोना जित्नेमा ४ महिने शिशुदेखि ६६ वर्षसम्मका वृद्ध छन् । उनीहरु सबै वीरगञ्ज महानगरपालिका–३ छपकैयाका हुन् ।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । अहिले उनका परिवारका सबै सदस्य निको भएर घर फर्किसकेका छन् ।

पर्सामा संक्रमण कहिले देखियो ?

चैत २९ गते पहिलो पटक पर्सामा कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जको छपकैयामा बस्दै आएका तीन जना भारतीय नागरिकमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

तर वैशाख महिना भने पर्साका लागि सुखद् रहेन । वैशाखमा मात्रै ८२ जना संक्रमित भए । वैशाख १४ मा २ जना, वैशाख १५, १७ र २१ मा एक/एक जना, वैशाख २४ मा १७ जना, वैशाख ३० मा एकैदिन सबै भन्दा बढी ५७ जना, वैशाख ३१ मा ३ जना संक्रमित फेला परेका थिए । जेठ २ मा ४ जना र जेठ ३ मा २ जना संक्रमित भेटिएका थिए ।

संक्रमण एक साता थामियो

जेठको तीन गतेयताको एक साता भने पर्सामा नयाँ कोरोना संक्रमित थपिएन । एक सातापछि जेठ ११ गते भने दुई जना कोरोना संक्रमित थपिए । थपिएका संक्रमित दुवै जना वीरगञ्जका छन् । अहिले उनीहरु गण्डक कोभिड अस्पतालमा उपचाररत छन् ।

जेठ ११ गते आइतबारकै दिन पर्सा घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भयो । त्यस्तै सोमबार पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत पर्सा घर भएका एक जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना कलैया अस्पतालमा उपचाररत छन् ।

आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या भने ९४ पुगेको छ ।

पर्सामा कति भए पीसीआर परीक्षण ?

वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार पर्सामा अहिलेसम्म करिब १३ सय जनाको पीसीआर परीक्षण भएर पनि रिपोर्ट आइसकेको छ ।

संक्रमितको सम्पर्कमा रहेका करिब ३ सय जनाको स्वाब संकलन भइसकेको उनले बताए । पर्सा घर भई बारामा कार्यरत दुई जना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ हुन बाँकी रहेको उनले बताए ।

यस्तै गरी नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारीसहित ५१ जनालाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको पनि स्वाब संकलन गर्न बाँकी रहेको छ ।

संक्रमितमा आत्मबल बलियो देखियो

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत पर्सामा एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमित निको हुनुमा संक्रमितमा देखिएको बलियो आत्मविश्वास मुख्य कारण हो ।

यसरी एकै पटक संक्रमितहरु निको भएर घर फर्कनुले अन्य संक्रमितमा पनि हौसला मिलेको उनले बताए ।