गण्डकी प्रदेशसभाद्दारा ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित


पोखरा-गण्डकी प्रदेश सभाले प्रदेशको ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले विधेयक पारित गर्न गरेको प्रस्तावलाई मंगलबारको प्रदेश सभा बैठकले सर्वसम्मत पारित गरेको हो । पारित गर्नुअघि भएको दफावार छलफलमा भाग लिदै सांसदहरुले विधेयक अत्याश्यक भएपनि यसको दायरा फराकिलो पार्नुपर्ने बताएका थिए ।

मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गरे भने तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सम्बन्धमा समितिको प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा प्रस्तुत गरे ।

बैठकमा संसदको प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले समितिको वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गरे । उनले गत आर्थिक वर्षको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेका हुन् । अघिल्लो असार मसान्त भित्रमै बुझाउनुपर्ने प्रतिवेदन उनले करीब १ वर्ष पछि सभा समक्ष प्रस्तुत गरेका हुन् । बागलुङबाट निर्वाचित थापाले आफ्नो जिम्मेवारी नबुझ्दा र काम गर्ने ढंग नपुग्दा १ वर्ष ढिलागरी प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेको एक सांसदले टिप्पणी गरे ।

मंगलबारको बैठकमा उपचुनावमा बागलुङबाट निर्वाचित सांसद खिम विक्रम शाहीलाई सार्वजनिक लेखा समितिको सदस्यमा नियुक्त गरेको सभामुख नेत्रनाथ अधिकारीले सभालाई जानकारी गराए ।

गण्डकी प्रदेश सांसद राजिव पहारीले नेपालले नया नक्सा जारी गरेपछि सबै नेपालीको गर्वले छाती फुलेको बताएका छन् । गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले केपी ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पीयाधुरा र कालापानीसहितको नेपालको नक्सा बनाउँदा विश्वमा रहेका सबै नेपालीको छाती गर्वले फुलेको तथा शीर उचो भएको बताएका हुन् । साथै उनले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्पष्ट नीति र दृष्टिकोण बनाएका कारण अमेरिका, स्पेनलगायतका देशहरुमा जस्तो नेपालमा कोरोना संक्रमण फैलिन नपाएको दाबी गरे ।

सांसद विन्दुकुमार थापाले लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न सुझाव दिए । उनले लकडाउनका कारण उद्योग, पर्यटनलगायतका क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै सो क्षेत्र उकास्ने गरी बजेट ल्याउन सुझाव दिए ।

सांसद मिना गुरुङले कोरोना संक्रमण रोक्न जनप्रतिनिधि प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिइन् ।

सांसद खिम विक्रम शाहीले विदेशमा कयौं नेपाली अलपत्र अवस्थामा रहेको भन्दै उनीहरुको यथाशिघ्र उद्धार गर्न आग्रह गरे ।

सांसद धनमाया लामाले आर्थिक बृद्धिदर उकास्ने र रोजगारी सिर्जना गर्ने प्याकेज तत्काल घोषणा गर्न माग गरिन् ।

सांसद ओमकला गौतमले सामाजिक दुरी कायम गरेर कृषि, उद्योग सञ्चालन गर्नसक्ने खालको लकडाउन कायम गर्न आग्रह गरिन् ।

मंगलबारको बैठकमा दलित युवाको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सांसदहरुले माग गरे । सांसदहरुले अन्र्तजातिय विवाह गर्न खोज्दा दुलाहा नवराज विश्वकर्मासहित ३ युवाको हत्या भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कार्वाही गर्न माग गरेका हुन् ।

प्रदेश सभाको विशेष समयमा बोल्दै सांसद जुनादेवी नेपालीले जात र धर्मका नाममा हत्या हिंसा हुनु निन्दनीय भएको बताइन् । उनले घट्नाको निश्पक्ष छानविन गरी दोषीमाथि कार्वाही गर्न माग गरिन् ।

शून्य समयमा बोल्दै सांसद लक्ष्मी सुनारले २१ औं शताब्दीमापनि जातिय विभेद कायम रहेको र त्यसको परिणाम स्वरुप दलित युवाले अन्र्तजातिय विवाह गर्न खोज्दा ज्यान गुमाउनुपरेको बताइन् । उनले घट्नामा संलग्नलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न आग्रह गरिन् ।
प्रदेश सभाको अर्को बैठक भोलि जेठ १४ गते बुधबार दिउँसो १ बजे बस्ने सभामुख अधिकारीले जानकारी दिए ।