कोभिड–१९ सङ्क्रमणको गति नेपालमा बढ्दै


काठमाडौ- नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो । जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि सङ्क्रमित भेटिए । उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे । शुक्रबार १७० जनामा देखिएको कोभिड–१९उन्नाइसले बढेर शनिबार सबैभन्दा बढी १८९ जनामा देखियो ।

गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो । पछिल्लो जेठ १२ पछि भने सङ्क्रमणको गति झन् बढ्दो छ । यही जेठ १६ गते शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो । जेठ १५ गते १५६ जनामा सङ्क्रमण देखिएको थियो । जेठ १४ गते ११४ फेला परे । जेठ १३ मा ८४, १२ गते ७२, ११ गते १९ तथा १० गते ३२ जना सङ्क्रमित भेटिएका थिए ।

मन्त्रालयले दिएको विवरणअनुसार आजसम्म कोभिड–१९ का कारण छ जनाले ज्यान गुमाएका छन् । अन्य मुलुकभन्दा नेपालमा मृत्युदर न्यून छ । मृतकको नजिक रहेका व्यक्तिको कन्ट्र्याक्ट टे«ेसिङको काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भाइरस रहेको पुष्टि गरिएको थियो । पुष्टि गर्न विश्वस्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनुपरेको थियो । तर अहिले नेपालका २० भन्दाबढी स्थानबाट यसको परीक्षण हुँदै आएको छ ।

त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा मात्रै फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । युवती चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिकरुपमा बढ्दो छ ।

पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा बढ्दो छ । सङ्क्रमणको जोखिम बढेपछि मुलुकमा चैत १० बाट हवाई उडान बन्द गरिए पनि भारतीय खुला सीमाका कारण सङ्क्रमित व्यक्ति सहजरुपमा नेपाल भित्रिँदा कोभिड–१९ सङ्क्रमण फैलिनमा सहयोग गरेको विज्ञहरु बताउछन् ।

सरकारले परीक्षणको दायरा फराकिलो बनाएकाले पनि सङ्क्रमणदरको सङ्ख्या बढोत्तरी देखिएको प्रवक्ता डा देवकोटा बताउनुहुन्छ । तर विगतमा भन्दा विस्तारै सङ्क्रमण फैलिनेक्रम भने बढ्दो गतिमा छ ।

नेपालमा हालसम्म पिसिआर ६६ हजार ७२९ जनाको र एक लाख सात हजार ५५ जनाको आरडिटीबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार बढीको परीक्षण भएको मन्त्रालयले जनाएको छ । आज मात्रै नयाँ सङ्क्रमित १८९ जना छन् । हालसम्म कूल एक हजार ४०१ पुगेकामा २१९ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर अहिलेसम्म २१६ मुलुकमा कोभिड–१९ देखिएको छ । कूल ६० लाख ४८ हजार बढी सङ्क्रमित भेटिएका छन् । तीन लाख ६७ हजार २२८ जनाको मृत्यु भइसकेको छ । दुई लाख ६८ हजार निको भएर घर फर्किएका छन् ।