नेपालमा हालसम्म ६४ जिल्लामा सङ्क्रमण, मृत्यु हुनेकाे संख्या १० पुग्याे


काठमाण्डाै – नेपालमा अहिलेसम्म दुई हजार छ सय ३४ जनामा काेराेना सङ्क्रमण देखिएको छ । तीमध्ये दश जनाको मृत्यु भएको छ भने २७८ उपचारपछि घर फर्किसक्नुभएको छ । यस्तै अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म ६४ जिल्लामा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण युवा अवस्थाका व्यक्तिमा सबभन्दा बढी देखिएको छ । १५ वर्षदेखि २४ वर्ष उमेरका ७१३, २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका ५६२, ३४ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४४, ४६ वर्षदेखि ५४ वर्ष उमेर समूहका १२६ जनामा रहेका छन् । वृद्धा र केटाकेटीमा कम छ । अहिलेसम्म पिसीआर ८० हजार २६७ र आरडिटी एक लाख २० हजार २७९ जनामा परीक्षण गरिएको छ । यस्तै एक लाख ५५ हजार ८६८ क्वारेन्टिनमा र दुई हजार १३ जना आइसोलेसनमा रहेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बिहीबार पाल्पाको पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय मृतक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत जेठ २० गते पाल्पा मिसन अस्पतालमा मृत्यु भएका उनको स्वाव संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए । पाँच दिन अघि भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टिनमा बसेकोमा उनको श्वासप्रश्वासमा समस्या देखिएपछि पाल्पा मिसन अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको देबकोटाले उल्लेख गरे।