स्पेनमा लकडाउन खुकुलो, जनजीवन सामान्य बन्दै (भिडियोसहित)


बार्सिलोना। स्पेनमा लकडाउन खुकुलो पार्दै लगेपछि जनजीवन सामान्य बनेको छ । मुलुकभर लगाइएको आपतकालीन अवस्था जारी रहे पनि सावधानीका उपाय अपनाउँदै लकडाउनको विधि परिमार्जित गरिएको हो ।

सङ्क्रमण ज्यादा भएको ठाउँमा अलि बढी कडिकडाउ गर्ने र कम भएका ठाउँहरुमा खोल्दै जाने मोडालिटीमा लकडाउनलाई खुकुलो पार्न चार चरणमा रणनीतिहरु तय गरिएका छन् ।

प्रत्येक चरणका लागि १५ दिनको परीक्षणको समयसीमा तोकिएको छ। सङ्क्रमणको अवस्था सुधारजनक नभए सो क्षेत्रलाई सोही चरणमा राख्ने मोडालिटी तय गरिएको छ। त्यसैले पनि बढी प्रभावित शहरहरु राजधानी म्याड्रिड र बार्सिलोना अझै पनि पहिलो चरणमा नै छन् ।

यी शहरहरु पनि आगामी सोमबारदेखि दोस्रो चरणमा प्रबेश गर्ने अपेक्षा गरिएको छ । तर, यसअघि नै झण्डै ७० प्रतिशत जनसंख्या दोस्रो चरणमा पुगिसकेको छ । स्पेनका कतिपय टापुहरु तेस्रो चरणमा पनि प्रवेश गरिसकेका छन् ।

लकडाउन खुकुलो हुँदै गएपछि सार्वजनिक यातायात प्रयोग गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। तर, यात्राको क्रममा अनिवार्य मास्क लगाउन र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा स्पेन पाँचौं स्थानमा छ । स्पेनको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्बजनिक गरेको रिपोर्टअनुसार पछिल्लो ४८ घण्टामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ। दैनिक नयाँ संक्रमितको संख्या पनि न्यून रहेको छ ।

पर्यटकीय क्षेत्र बार्सिलोनामा चहल पहल

पर्यटकीय शहर बार्सीलोनास्थित सामुन्द्रिक किनारामा मंगलबार साँझ पुग्दा त्यहाँ चहल पहल देखिन्थ्यो । शारीरिक व्यायाम, खेलकुद तथा हिँडडुलका लागि मानिसहरु निस्केका थिए । त्यहाँ वरपरका बार तथा रेष्टुराबाहिर टेबल कुर्सीहरु भरिभराउ थिए ।

बार्सिलोनास्थित रेष्टुरेन्ट ब्यवसायी दीपक खरेलले पछिल्लो अवस्थाले आफू निकै उत्साहित भएको बताए। उनले भने,’अहिले रेष्टुरेन्टबाहिर टेबल कुर्सी राखेर सर्भिस सुरु गरेका छौं । ग्राहकहरु पनि खानपिन गर्न पाउँदा निकै खुशी देखिएका छन् । आउँदो हप्ता दोस्रो चरणमा पुगेपछि भित्र पनि ४० प्रतिशत क्षमतामा ग्राहक राख्न सकिन्छ । सामान्य अवस्थामा फर्कनेमा म निकै आशावादी भएको छु ।’

जुलाईदेखि अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत भित्र्याउने लक्ष्य लिएको सरकारको नीतिले ब्यवसायीहरु उत्साहित भएको उनले बताए । ४ करोड ६० लाख जनसंख्या रहेको स्पेनले गत बर्ष ८ करोड पर्यटकहरु भित्र्याएको थियो ।

यो बर्ष अप्रिल महिनामा पर्यटकको संख्या शुन्य रहेको सरकारी तथ्याङ्क हालै सार्वजनिक भएको छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरस भन्दा खतरनाक हुने देखिएपछि संकटकाबीच पनि आर्थिक गतिविधि बढाउने संकेत देखाएका छन्।

यसैबीच कोरोना महामारीले रोकिएको स्पेनी ला लिगा पनि जुन ११ तारिखदेखि सुरु हुँदैछ। लिग आयोजकले दुई चरणको तालिका सार्बजनिक गरिसकेको छ। दर्शकहरुविना नै खेलहरु सञ्चालन हुने भएता पनि संसारभरका फुटबलप्रेमीहरु निकै उत्साहित बनेका छन्।

भिडियो रिपोर्ट

 

स्पेनमा लकडाउन खुकुलो, जनजीवन सामान्य बन्दै

स्पेनमा लकडाउन खुकुलो, जनजीवन सामान्य बन्दै

Posted by Himalaya TV on Wednesday, June 3, 2020