नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डौ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्दा मृत्यु भएका ५७ वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए । भारतबाट आएका उनको बुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रवार दिउसो थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोसी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको गौतमले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८ जना, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८ जना, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ जनाको पोजेटिभ आएको छ ।

सरकारले पीसीआर परीक्षणको विधिलाई पछिल्लो समय तिव्रता दिएको छ । पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडिटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण भएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडिटी विधिबाट १ लाख ८८ हजार ५२ जनाको नमुना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् । आइसोलेसनमा ४ हजार १ सय ६९ जना उपचाररत रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म कूल ८ सय ७७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ रहेको छ । नेपालमा संक्रमित मध्ये ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।