रियल मड्रिड लिगाको शीर्ष स्थानमा


 मड्रिड । रियल सोसिडाडलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा सोसिडाडलाई उसैको मैदानमा २-१ ले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । जितपछि बार्सिलोना समान अंक भए पनि हेड टु हेडमा रियल शीर्ष स्थानमा पुगेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने सबै गोल दोस्रो हाफमा भएको हो । ५० औँ मिनेटमा रियलका कप्तान सर्गियो रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

सोसिडाडका डिएगो लोरेन्टेले रियलका भिनिसियस जुनियरलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो र त्यसमा रामोसले गोल गरे । ६८औं मिनेटमा सोसिडाडका एडनान जानुजाइले गोल गरे पनि अफसाइड घोषित हुँदा सोसिडाडले बराबरी गर्ने अवसर गुमायो ।

७० औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । ८३ औं मिनेटमा घरेलु टोली सोसिडाडका मिकेल मेरिनोले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर उनको गोल हार टार्नलाई पर्याप्त भएन ।

जितपछि रियलले ३० खेलबाट बार्सिलोना समान ६५ अंक जोडेको छ । तर हेड टु हेडका आधारमा रियल अगाडि रहँदै शीर्ष स्थानमा उक्लेको हो ।

ला लिगाकै अन्य खेलमा भयालेन्सियाले ओसासनालाई २-० ले पराजित गरेको छ । यस्तै सेल्टा भिगोले डेपोर्टा ला कुरानालाई ६-० ले पराजित गरेको छ ।