ढुंगा मुडाका बाबजुत पोखरामा कोरोना संक्रमितको शव व्याबस्थापन



पोखरा – ढुंगा मुडाका बाबजुत पनि पोखरामा पुनः कोरोना शंक्रमितको शव व्याबस्थापन गरिएको छ । पोखरामा उपचारकै क्रममा गएराति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा महानगरपालिका वडा ३२, मजुवाका स्थानीयले विरोध गरी ढुंगा मुडा गरे पनि अन्ततः शव व्याबस्थापन गरिएको छ ।

झडपको क्रममा केही स्थानिय र ३ जना प्रहरी सामान्य घाइते भएको कास्कीका प्रहरी प्रखुम एस.पी. जीवन श्रेष्ठले बताए । शव व्याबस्थापन गर्न गएको सुरक्षाकर्मीको टोलीलाई बाटो छेकेर ढुंगा मुडा गर्ने ७ जना पक्राउ गरिएको उनले जनाए । उक्त भिडलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्डसम्म हवाइफायर गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डी.एस.पी.) सुवास हमालका अनुसार ८ राउण्डसम्म हवाइफायर गरिएको छ । पोखरा महानगरको डोजरले खाल्डो खन्न लागेको थाहा पाएपछि स्थानीय सो ठाउँमा शव गाड्न नदिने भन्दै अबरोध सृजना गरेका हुन्। प्रहरी र स्थानीयबीचको झडपबीच पनि बिहीबार दिउँसो शव व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

गत जेठ ८ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ल्याइएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति ११ः३५ मिनेटमा मृत्यु भएको थियो । कोरोना संक्रमित उनी मधुमेह र निमोनिया रोगबाट समेत ग्रसित रहेको अस्पतालमा निर्देशक डा.अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनलाई उपचारक्रममा सुरुवातमा आईसीयूमा राखिएकोमा श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
गण्डकी प्रदेशमा यो सहित कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत जेठ २३ मा स्याङ्जा वालिङका ५८ वर्षीय अर्का पुरुषको पोखरामै उपचारक्रममा मृत्यु भएको थियो । उनको शव व्यवस्थापन गर्ने क्रममा समेत कठिन भएको थियो ।

यसैबिच, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को सवै सेवा पुनः संचालनमा आएको छ । इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा केही समय ठप्प भए पनि विहिबार साँझ देखि पुनः संचालनमा आएको उनले जनाए ।