नेपाली पत्रकारहरुका लागि सहयोग जुटाउन इन्जाले थाल्यो अभियान


लण्डन (जीएनएन)– नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले कोभिड-१९ का कारण नेपालमा रोजगारी गुमाएका तथा आर्थिक संकटमा परेका पत्रकारहरुका लागि सहयोग जुटाउन एउटा अभियान शुरु गरेको छ।
आफ्ना पार्टनरहरुको समेत सहकार्यमा गम्भीर संकटको अवस्थामा पत्रकारहरुको रोजीरोटीको समस्यालाई हल गर्न अल्पकालिन र दीर्घकालीन विशेष अभियान सुरु गरिएको सो संस्थाले जनाएको छ ।
अमेरिकामा मुख्यालय रहेको संस्था इन्जाले प्रारम्भिक प्रतिवेदनहरुले नेपालबाट प्रकाशित तथा प्रसारित हुने ७ सय भन्दा बढी संचार माध्यमहरु कोभिड १९ को कारण पूर्णत: संचालनमा नरहेको जनाएको छ ।
“सञ्चार माध्यमहरु बन्द हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमहरुले बजार तथा विज्ञापनमा ह्रास आएको कारण देखाउंदै पत्रकारहरुलाई निस्कासन गर्ने, बेतलबी विदामा वस्न दवाव दिने तथा कार्यरत पत्रकारहरुलाई यसअघि पाइरहेको तलवमा ५० प्रतिशत भन्दा बढी कटौति गर्ने गर्दा देशभरमा २ हजारको हाराहारीमा पत्रकारहरुको दैनिक जीवनयापनमा समस्या भएको छ,” विज्ञप्तिमा भनिएको छ।
“आवाजविहीनहरुका आवाज बनिरहेका पत्रकारहरु अहिले भने आफै आवाजविहीन बनेको अवस्था छ । नेपाल सरकारले अहिलेसम्म संकटमा परेका पत्रकार लगायत अन्य पेशाकर्मीहरुका लागि कुनै पनि अल्पकालीन र दीर्घकालीन राहत योजना सार्वजनिक गरेको छैन । नेपालजस्ता विकासोन्मुख देशमा संकटको समयमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुन जरुरी छ र यदि प्रेस सबल हुन सकेन भने एकातिर देशमा शक्ति सन्तुलन कायम हुन सक्दैन र सरकार अराजक बन्ने संभावना वढ्दै जान्छ भने अर्कोतिर संचार जगत कमजोर हुंदा प्रजातन्त्र र हर किसिमका स्वतन्त्रताहरु पनि अति कमजोर हुंदै जाने सम्भावना रहन्छ,” इन्जाका केन्द्रिय अध्यक्ष गुणराज लुइँटेल ‘स्मित’ ले भने।
अल्पकालीन अभियान अन्तर्गत इन्जाले एक गोफन्ड खाता खोलेर सहयोग जुटाउने काम सुरु गरेको छ । यो लिंकमा गएर स्वेच्छिक सहयोग गर्न पनि इन्जाले अपिल गरेको छ।
https://www.gofundme.com/f/support-nepali-journalists-impacted-by-covid19?utm_source=widget&utm_medium=referral&utm_campaign=p_cp%20share-sheet&fbclid=IwAR2OSjEXWu1DzgiWtNMro5qUGe5cCthxqAjH3tRr83eeKV2Ti5B79X1Ay0c

यो खातामा संकलित रकम सोझै समस्यामा रहेका संचार माध्यम र संचारकर्मीहरुलाई एउटा पारदर्शी र ब्यवस्थित माध्यमबाट प्रदान गरिनेछ । गोफन्डको अलावा इञ्जाले व्यक्तिगत वा संस्थागत सहयोगलाई पनि स्वीकार गर्ने छ ।
“इञ्जाले दीर्घकालीन अभियान अन्तर्गत विभिन्न दातृ निकायहरुसंग पनि सहकार्यको पहल गरिरहेको छ । नेपाली पत्रकारहरुलाई संकटमुक्त गर्ने यो अभियानमा सरिक भइदिनुहुन र आफूसंबद्ध संघसंस्था एवं महानुभावहरुलाई पनि सहयोगका लागि प्रेरित गरिदिनु हुन हार्दिक अपिल गर्दछौं,” वक्तव्यमा भनिएको छ।