पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रगति ६२ प्रतिशत


पोखरा – विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमापनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा कोरोना र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।

सरकारले १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीलाई विमानस्थल निर्माणको जिम्मा दिएको थियो । तर विमानस्थल निर्माण गरिरहेको सिएएमसीले निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई विमानस्थल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको थियो । कोरोना अघिसम्म पनि निर्माण कम्पनीले प्रतिबद्धता अनुरुप विमानस्थल ६ महिना अघि नै हस्तान्तरण गर्न सकिने बताउँदै आएको थियो । तर विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनका प्रभाव विमानस्थल निर्माणमा परेपछि निर्माण कम्पनीले निर्माण सम्पन्न गर्ने समयसीमा भन्दा ६ महिना अघि नै विमानस्थल निर्माण कार्य सकेर हस्तान्तरण सरकारलाई बुझाउन नसकिने बताएको छ । हो हामी यसअघीको प्रतिबद्धताबाट ब्याक हुनु परेको छ,‘विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले भने,‘कोरोना र लकडाउनका कारण हाम्रो कार्य प्रगति खुम्चियो, समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सकेर सरकारलाई विमानस्थल बुझाउन सक्दैनौं ।’ उनले सम्झौताको समयसीमा अर्थात २०२१ जुलाई सम्ममा भने निर्माण सक्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

कोरोनाका कारण करीब १३ प्रतिशतले कार्य प्रगति घटेको पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाले जनाएको छ । सामान्य अवस्था रहेको भए गत असार मसान्त सम्ममा पोखरा विमानस्थलको निर्माण कार्य प्रगति करीब ७५ प्रतिशत पुग्थ्यो । तर कोरोना र त्यसलाई रोक्न गरिएको लकडाउनका कारण निर्माणमा परेको प्रभावका कारण सो अवधीमा विमानस्थलको निर्माण कार्य प्रगति ६२ प्रतिशतमा खुम्चिएको हो । ‘दश देखि तेह्र प्रतिशत निर्माण कार्य प्रगति घट्यो भन्ने हाम्रो निश्कर्ष हो’–उनले भने ।

समग्र कार्य प्रगति खुम्चिने मात्र होइन, विमानस्थलको निर्माण कार्य आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा २०७६÷०७७ मा पनि कम छ । विमानस्थल निर्माणको पहिलो वर्ष २०७४÷०७५ मा १५ प्रतिशत कार्य प्रगति भएको २०७५÷०७६ मा २७ प्रतिशत थप कार्य प्रगति गर्दै कुल ४२ प्रतिशत विमानस्थल निर्माण कार्य प्रगति भएको थियो । तर २०७६÷०७७ मा केवल २० प्रतिशत मात्र कार्य प्रगति भई कुल ६२ प्रतिशत निर्माण कार्य प्रगति भएको पोखरा विमानस्थल निर्माण आयोजनाका प्रमुख मुर्नकर्मीले जानकारी दिए ।

कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको सो विमानस्थल निर्माणमा हालसम्म १२ अर्ब खर्च भइसकेको विमानस्थल आयोजना प्रमुख मुनाकर्मीले बताए । उनका अनुसार विमानस्थल निर्माण अन्तर्गत हालसम्म २ हजार ५ सय मिटरको रन–वे, एयरसाइड निर्माण गरिएको छ भने भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरसहित १४ वटा भवनहरु निर्माण गरिएका छन् । त्यस्तै, ह्याङ्गर लगायतको सिभिल संरचना र कंक्रिट संरचना निर्माणको कामपनि सकिएको छ भने ट्याक्सी आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँच मार्ग (एक्सेस रोड) निर्माण गरिसकिएको प्रमुख मुांकर्मीले जानकारी दिए । उनले पानीको निकासका लागि सिंचाई नाला, पानी बाहिर पठाउने (आउटलिफ्टिङ) र कल्भर्ट निर्माणको कामपनि सम्पन्न भइसकेको बताए । हामी भवन निर्माण सकेर फिनिसिङ र डेकोरेसनमा जुटेका छौं,‘उनले भने,‘अब हामी चाँडै उपकरण जडानमा लाग्छौं ।’

निर्माण सम्पन्न गर्ने सम्झौताको समयसीमा भित्रै विमानस्थल निर्माण सम्पन्न गर्ने नया लक्ष्य लिएर काम गरिरहेको पोखरा विमानस्थल निर्माण आयोजनाले कामदारको अभाव झेलिरहेको जनाएको छ । कोरोनाका कारण घर फर्केका कामदार फर्काउन समस्या हुँदा कामले अझैपनि गति लिन नसकेको आयोजना प्रमुख मुनंकर्मीले बताए । बाहिरबाट कामदार बोलाउँदा कोरोना भए÷नभएका पिसीआर गर्नुपर्ने बाध्यता रहेको तर पिसीआर प्रोटोकलले भेटेमा मात्र गर्न मिल्ने विरोधाभास प्रावधानका कारण आफूहरुले चाहेरपनि कामदार ल्याउन नसकिरहेको उनको भनाई छ । उनले चीनिया कामदार र नेपाली कामदार दुबै ल्याउने तयारी भइरहेको जाकारी दिए ।

त्यस्तै, चीनबाट सामान ल्याउनसमेत समस्या हुँदा त्यसको असर निर्माणमा पर्ने हो कि भन्ने चिन्तासमेत भइरहेको मुनंकर्मीले बताए । उनका अनुसार विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ग्लाइड पाथ, इलेक्ट्रोमिटर, बोडिङब्रिज लगायतका उपकरण तथा डेकोरेसनका सामानहरु चीनबाट आउन बाँकी छ । केहि सामान कलकत्ता बन्दरगाह हुँदै ल्याउनुपर्ने बाध्यताका कारणपनि सामान ल्याउन ढिलाई भइरहेको उनको भनाई छ । कतिपय सामानहरु भने उत्पादनकै क्रममा भएकाले ल्याउन केहि समय लाग्ने उनले बताए । उनका अनुसार चीनबाट हिंडेको सामान समेत पोखरा आइपुग्न २ महिना लाग्छ ।

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ईञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (ईपिसी) मोडलमा अन्र्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको छ । यसमा न्यारोवडीका १९० सिटे विमानहरु उडान तथा अवतरण हुनेछन् । (सन्देश श्रेष्ठ)