पाेखरामा फोहोर व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी


पोखरा -पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो ।

अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेम सुझाव समेत संकलन गरिएको छ ।

बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहोर मध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए । पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।

बिहीबार भएको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घर, घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिना भित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वकृतिको लागि महानगरमा सिफासिर गर्ने निर्णय गरेको छ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडा अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मुल समिति र सचिवालय समिति गठन गरी फोहोर मैला व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मुल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ । बैठकमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझावलाई समेटेर अभियानलाई अगाडि बढाइने बताए ।

बिहीबार भएको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अभियालनलाई समर्थन गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा गण्डी प्रदेश सांसद कृष्ण थापाले स्थानीय तहको निर्वाचनको बेलामा पार्टीले बनाएको घोषणपत्र मै सरसफाइ विषयलाई समेटेकोले यो अभियानलाई सक्दो सहयोग गर्ने बताए । उनले भाषण गरे मात्र पोखरा सफा नहुने र काम नै गर्नुपर्ने भन्दै विशेष गरी महानगरकै जनप्रतिनिध यसमा खटिनुपर्ने बताए ।

नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्ष तथा सचेतक रामराज लामिछानेले पोखराको फोहोर व्यवस्थापन गर्न महानगरले ल्याएको अभियानमा समर्थन जनाउँदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका कार्यवहाक अध्यक्ष गणेशबहादुर ढकालले फोहोरलाई वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्ने अभियानमा समय सान्दर्भिक भएको बताउँदै सहयोग गर्ने बताए ।

कार्यक्रममा सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै पोखरामा दैनिक १ सय ८२ टन फोहोर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहोर मध्ये ८० प्रतिशत घरयासी फोहोर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

पोखरा महानपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरका करिब १ लाख ५० हजार घरमा कोशी खेती गर्दा मासिक करिब ५० करोड सम्मको तरकारी फलाउन सकिने बताए । घरबाट निस्कने कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न सकिने उनको भनाइ छ ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मुल समितिका सदस्य सचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रुपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहोर व्यवस्थापन गरिएको बताइन् । बरालका अनुसार पोखरामा २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र ५९ सालमा सम्पन्न भएपनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । अहिले फोहोर व्यस्थापन कसरी भइरहेको छ भन्ने बारे बरालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । बैठक महानगर प्रमुख तथा अभियान मुल समिति संयोजक मानबहादुर जिसीको अध्यक्षतामा भएको थियो ।