लग्जेम्बर्गमा बर्षगाँठको जमघट : कति छन् कोरोना संक्रमित ?


लग्जेम्बर्ग ।गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले लग्जेम्बर्गमा पारिबारिक जमघटका कारण ३५ जनालाई कोरोना संक्रमण भएको बताएपनि तथ्याङ्क गलत रहेको एनआरएनए लग्जेम्बर्गले जनाएको छ। संघका अध्यक्ष हरि खत्रीले  तथ्याङ्क गलत रुपमा प्रस्तुत हुँदा समाजनै आतंकित भएको भन्दै यसको खण्डन गरेका हुन्।  उनका अनुसार पछिल्लो क्रममा समुदायमा १४ जना नेपालीहरुलाई कोरोना संक्रमण भेटिएको छ। दुई परिवारका ४- ४ जना र एक परिवारका ६ जना गरी १४ जनामा पोजेटिभ देखिएको हो। एक जनाको अस्पतालमा उपाचार भईरहेपनि अन्यको अबस्था सामान्य रहेको एनआर एनए अध्यक्ष खत्रीले जानकारी दिए। 

३५ जना संक्रमित भएको हल्ला कसरी फैलियो ? अध्यक्ष खत्री यसो भन्छन्:-

मैले लक्जेबर्गको अबस्थाबारे एनआरएनए युरोप संयोजकलाई हालसम्म ३०- ३५ जना संक्रमित भएको बताएको थिए। तर एनआरएनए स्वास्थ्य समितिको स्रोतसहित  लक्जेबर्गमा बैबाहिक बर्षगाँठमा सहभागि ३५ जना संक्रमित भन्ने समाचार  आउदा सबै अचम्मित छौ। संक्रमणको जोखिम भईरहदा ३०-३५ जना जम्मा भएर  हामीले यहाँ कुनै पार्टी गरेका छैनौँ। तर प्राप्त जानकारी अनुसार नेदरल्याण्डबाट दुई जना  बर्षगाँठ मनाउन लक्जेबर्ग आएका थिए। 

तर यहाँ कसैले पनि बर्षगाँठ मनाएको छैन। बरु उतैबाट बर्षगाँठ मनाउन आएको र चउरतिर जमघट भएको सुनियो। सो जमघटमा लक्जेबर्गबाट पनि तीन परिबार सहभागी भएको सुनियो। ती परिबारका केहि सदस्यहरुमा संक्रमण देखिएको सुनियो। उनिहरु अहिले आफ्नै घरमा आराम गरिहेका छन्। झन्डै झन्डै सबै निको भईसकेका छन्। एक जना सास फेर्न अप्ठारो भयो भनेर अझै पनि अस्पतालमा हुनुहुन्छ।

 नेदरल्याण्डबाट लक्जेबर्गबाट बर्षगाँठ मनाउन आएका दुईजना पनि बिरामी छन् भन्ने मैले सुनेको छु। यथार्थ कुरा यही नि हो। संक्रमण कहाँबाट फैलियो भन्नेबारे यकिन छैन। लक्जेबर्गका तीन परिबारमा संक्रमण देखिएको साँचो नै हो। तर ३५ जना संक्रमित भन्दै समुदायलाई आतंकित बनाउने काम बन्द गरौं।