‘कोभिड-१९ संक्रमणका कारण संसारभरि २४५ जना नेपालीहरुको निधन’


लन्डन — कोरोना (कोभिड-१९) संक्रमणका कारण संसारभरि अहिलेसम्म २४५ जना नेपालीहरुको ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपाल बाहिर विभिन्न मुलुकहरुमा बसोबास गर्ने १८९ जना र नेपालमा ५६ जना गरी २४५ जना नेपालीहरुको निधन भएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण गत साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको संघले जनाएको छ । संघका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै अहिले सम्म २५ जना नेपालीको ज्यान गएको  छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीमा कार्यरत  डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

यस्तै गत साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।