नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुग्यो


काठमाण्डौ – नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुगेको छ । मंगलवार २५९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

संक्रमितहरु मध्य १५ हजार २६ जना निको भईसकेका छन् भने सक्रिय केसहरु ५ हजार ९८३ वटा रहेका छन् । हालसम्म देशभर ४ लाख ६ हजार ४९४ जनाको पीसीआर परिक्षण गरिएको छ भने ३ लाख ८५ हजार ४८४ जनामा संक्रमण देखिएको छैन ।

यस्तै, देशभर क्वारेन्टाईनमा १० हजार ४५२ जना रहेका छन् । ५ हजार ९२५ जना आईसोलेसनमा रहेका छन् ।

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मंगलवार थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । मृतक विराटनगर ५ आदर्श टोलका ७७ वर्षिय वृद्ध रहेका छन् । मधुमेह र उच्च रक्तचापका विरामी वृद्धलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डा.गौतमले बताउनु भयो ।

डा.गौतमका अनुसार बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालबाट ६५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । उनिहरुसंगै नेपालमा कोरोनाको संक्रमणबाट मुक्त हुनेहरुको संख्या १५ हजार २६ पुगेको छ ।

झापाका ८, मोरङका २४, सुनसरीका १२, धनुषाका १५, इलामका २, सिराहाका २, सप्तरीका ७, महोत्तरीका १५, सर्लाहीका २६, बझाङका २, भक्तपुरका १३, काठमाडौंका ५३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

बाराका ७, पर्साका १, रौतहटका ६, नुवाकोटका ४, स्याङजाका १, तनहुँका १ र रुकुम पश्चिमका १, चितवनका १, कास्कीका १, ललितपुरका १, रुपन्देहीका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै, पोखरा क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीका १, लमजुङका १, पर्वतका १ र स्याङ्जाका ३ जनामा संक्रमण पोजेटिभ देखिएको डा.गौतमले जानकारी दिनुभयो ।

यस्तै, गुल्मीका ५, रुपन्देहीका ६, बाँकेका ११, सल्यानका १, अछामका ११, कैलालीका २२ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गरेकाहरुको पीसीआर परिक्षणमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको बताएको छ । उनिहरुमा धेरै नागढुंगाबाट काठमाडौं छिरेका रहेका छन् ।

डा.गौतमका अनुसार काठमाडौं छिर्ने विभन्न नाकाहरुबाट १० हजार ८५३ जनाको परिक्षण गरिएकोमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुमा नागढुंगाबाट १६, साँगाबाट १३ र फर्पिङबाट ११ गरी ४० जना संक्रमित पुष्टि भएका हुन ।