राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्थाप्रणाली हुने थापाकाे दावी


काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्थाप्रणाली हुने दावी गरेका छन् ।

पार्टी केन्द्रीयकार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राज संस्थाको पक्षमा नभई चुनाव र पार्टी भन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।

शासन जनताले गर्ने राजसंस्था एकताको सुत्रको रुपमा अभिभावक मात्र हुने थापाको भनाई थियो । ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दु राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिए ।

एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पु¥याउनु पर्ने आवश्यकता औंल्याए । उनले थपे “एक भएको राप्रपा अब कसैले चाहेर फुट्दैन, हामी बलियो र अग्रणी शक्ति बन्यौ, अब जनतामा जान ढिलानगरौं” ।

कार्यक्रममा महिला संगठनका अध्यक्ष कुन्तीकुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।