बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि


जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।

पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

आफ्नै देशको क्लबलाई हराउन गोल गरेका २४ वर्षीय कोमनले करियरको २०औं उपाधि जितेका छन् ।पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।

उता सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको बायर्नले भने च्याम्पियन्स लिगमा अर्को उपाधि थप्न सफल भयो । च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् ।

बायर्नले पछिल्लो पटक सन् २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको बायर्नले सन् २००१ मा पनि उपाधि जितेको थियो । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो । बायर्नले यस सिजन कुने पनि खेल नहारी उपाधि जितेको हो ।

२०१३ मा घरेलु दुई ट्रफी र च्याम्पियन्स लिग जित्दै ट्रेबल बनाएको बायर्नले यसपटक पनि ट्रेबल उपाधि जितेको छ । बायर्न दोस्रो पटक ट्रेबल उपाधि जित्ने दोस्रो क्लब बनेको छ । बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।

यसअघि स्पानिस क्लब बार्सिलोनाले २००९ र २०१५ मा दुई पटक ट्रेबल जितेको थियो ।