बार्सिलोना छाड्न मेस्सीको पत्र:- कस्तो छ कानुनी लडाइँ?


आर्जेन्टीनाका फुटबल खेलाडी लिओनेल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए।

बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ। तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गर्छन्। बार्सिलोना क्लबका अनुसार अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अत्यसम्म क्लबसँग अनुबन्धित छन् र उनलाई कसैले किन्ने हो भने ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्छ।

क्लबको बोर्डको बैठक छिट्टै बस्नेछ। कतिपय ठान्छन् मेस्सीलाई मनाउने एकमात्र उपाय भनेको क्लबका अध्यक्ष जुजेप मरिआ बर्टोमेयोको राजीनामा र चाँडो चुनाव हुनसक्छ।तर मेस्सी कुनै पनि हालतमा क्लब छाड्ने मनस्थितिमा रहेको देखिन्छ।

अब क्लब र खेलाडीबीच कानुनी लडाइँ हुनसक्छ। मेस्सीको करारमा उनले यदि जुन १० तारिखभन्दा पहिले जान चाहेको भए निशुल्क क्लबबाट बहिर्गमन गर्न सक्ने प्रावधान थियो। त्यो मिति गुज्रिसक्यो। तर मेस्सी तथा उनको टोली ठान्छ कि लम्बिएको खेल सिजनका कारण सो मितिपनि लम्बिनुपर्छ।

यो महिनाको सुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना क्लबले बायर्न म्युनिखसँग ८-२ को लज्जाजनक हार बेहोरेको थियो।क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो।फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डो’र उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्। –बीबीसी नेपाली सेवाबाट