मेस्सीलाई बार्सिलोनामै राख्ने प्रयास 


EPA

बार्सिलोना। स्टार खेलाडी लियोनल मेसीले क्लब छाड्ने चाहनासहित पत्र पठाएपछि स्पेनिस क्लब बार्सिलोनाले उनलाई क्लबमै राख्न प्रयास गर्ने बताएको छ ।मंगलबार राति मेसीले क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउलाई आफूले क्लब छाड्न चाहेको भन्दै पत्र पठाएका थिए । यसले क्लबमा हलचल ल्याएको थियो र विश्व फुटबल नै तरंगित बनेको थियो ।

बुधबार ट्रिनकाओलाई बार्सिलोनाको खेलाडीको रुपमा प्रस्तुत गरिएपछि भएको पत्रकार सम्मेलनमा बार्सिलोनाको स्पोर्टिङ डिरेक्टर रोमन प्लान्सले मेसीको पत्र प्राप्त भएको र अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।सम्झौता कार्यक्रमपछि पत्रकार सम्मेलनमा अध्यक्ष बार्तामेउ उपस्थित हुने बताइए पनि अन्तिम समयमा उनी अनुपस्थित भए ।

पत्रकार सम्मेलनमा प्लान्सले ६ पटकको बालोन डे ओर विजेता मेसी क्लबमै रहुन् भन्ने चाहेको बताए ।‘लामो समयको छलफलपछि क्लब र लियोका लागि राम्रो समाधान पाएका छौं । क्लब अध्यक्ष तथा प्रशिक्षक कोएमनले समेत उनीसहितको क्लबको भविष्य देखेका छन् । हामीले त युवा खेलाडी खोजेका हौं’ स्पोर्टिङ डाइरेक्टर रामोन प्लान्सले भने ।

डाइरेक्टर प्लान्सले मेस्सीले आउँदो सिजन पनि बार्सिलोनाबाट खेल्ने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘हामीले आशा गरेका छौं । कि गएको सिजनभन्दा आगामी सिजनमा बलियो तरिकाले फर्किनेछौं । त्यसमा मेस्सी पनि हुनेछन् ।’

बार्सिलोनाले यसअघि पनि इतिहासमा धेरै पटक टोली पुनर्निर्माण गरेको र राम्रो टोली बनाउन सकेको भन्दै उनले अहिले पनि बार्सिलोनाले विश्व फुटबलकै उत्कृष्ट खेलाडीको वरपर रहेर टोली बनाउन चाहने बताए । ‘लिओले क्लबको लागि जति गरेका छन् त्यसको जति चर्चा गरेपनि कम छ । उनले बेग्लै इतिहास बनाएका छन्’ प्लान्सले भने ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँगको ८–२ को लज्जासपद हारपछि मेसीले क्लब छाड्ने घोषणा सार्वजनिक गरेका हुन्