अन्तत: लिओनल मेसी बार्सिलोनामै रहने 


बार्सीलोना। विभिन्न आरोह अवरोहपछि अन्तत: सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । उनले क्याटलान क्लबमा नै रहने शुक्रबार साँझ घोषणा गरेका हुन्। 

गत हप्ता मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् ।करिब १० दिनको अन्यौलपछि उनले फेरि  एक सिजन बार्सिलोनाबाटै खेल्ने निर्णयमा उनी पुगेका हुन् । बार्सिलोनामा मेसीको अझै एक सिजनका लागि सम्झौता बाँकी छ ।

पहिले क्लबलाई दिएको सूचनामा उनले आफूले अनुबन्ध अनुसार विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न चाहेको बताएका थिए । तर बार्सिलोनाले भने ७० करोड युरो तिरेपछि मात्र क्लब छाड्न पाउने बताएको थियो । क्लब छाड्ने निर्णय सुनाउँदै मेसीले आफू बार्सिलोनामा खुसी नरहेको र क्लबको व्यवस्थापनलाई लिएर गुनासो रहेको बताएका थिए । तर अहिले उनले आफ्नो निर्णय फेर्नु पछाडि कानुनी झमेलमा फस्न नचाहनु रहेको बताइएको छ ।

बार्सिलोनाले गरेको कोरोना भाइरस परिक्षण र त्यसपछि सुरु भएको टिमको अभ्यास सत्रमा पनि मेसी सहभागी भएका थिएनन् । तर स्पेनी मिडियाका अनुसार मेसीले आफू कानुनी रूपमा कमजोर हुन सक्ने बुझेपछि बार्सिलोनामै रहने निर्णय गरेका हुन् । 

शुक्रबामात्रै बार्यन म्युनिखबाट फिलिपे कोउटिन्हो बार्सिलोना आइसकेका छन् भने बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज युभेन्टस जाने भएको समाचार आएका छन् ।