रुसमा कोरोना विरूद्धको खोप लगाएका नेपालीको अनुभव (भिडियोसहित)


बार्सिलोना । रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरस (कोभिड-१९)विरूद्धको खोपलाई विश्वको पहिलो खोप दाबी गरेको थियो । त्यहाँ बस्ने एक नेपालीले रुसको कम्पनीले निर्माण गरिरहेको यो खोप लगाउने अवसर प्राप्त गरेका छन् ।

मस्कोमा स्वास्थ्य क्षेत्रमा नै कार्यरत ६१ वर्षीय डा. महेशसिंह श्रेष्ठले शनिबार ‘स्पुतनिक भी’ नामको उक्त खोप लगाएका हुन् । नेपालमा सल्यान मूल घर भएका श्रेष्ठ चार दशकदेखि रसियामा बस्दै आएका छन् ।

‘रगतदेखि विभिन्न परीक्षण भयो । खोप लागाउन कुनै रोग हुनुभएन । ती सबै मापदण्ड पूरा भएकोले मैले यो अवसर पाएँ’ डा.श्रेष्ठले भने ।

परीक्षणकै लागि अब तीन महिनासम्म मद्यपान तथा धुम्रपान गर्न नहुने पनि उनले बताए । खोपले गर्ने दीर्घकालीन असरबारे अझै यकिन नभएकाले तीन महिनासम्म बच्चा जन्माउन नहुने डाक्टरको तर्क छ ।

‘सेकेन्ड डोज २१ दिनपछि १० अक्टोबरमा लगाउँछु । ९० दिनसम्म परीक्षणमा नै रहनुपर्छ । दोस्रो डोज नलगाएसम्म हामीले पनि अन्यसरह नै सावधानी अपनाउनुपर्छ,’ उनले थपे ।

खोप लगाएपछि डा. श्रेष्ठले हात अलि गरुङ्गो र हल्का टाउको दुखेजस्तो अनुभव गरे । तर, अन्य असर भने उनलाई देखिएको छैन । अहिले रुसको निर्माण गरिरहेको खोपको विषयमा पश्चिमा मुलुकका वैज्ञानिकहरुले सुरक्षा र प्रभावकारिताको विषयलाई लिएर प्रश्न उठाइरहेका छन् । उनीहरुले छिटो खोपको घोषणा गर्ने क्रममा रुस सुरक्षाको मामिलामा गम्भीर नभएको आरोप लगाएका छन् ।

रुसको खोप लिएका डा. श्रेष्ठ भने आशावादी छन् । उनी भन्छन्, ‘रुसबारे सधैँ बढी नै चर्चा हुन्छ । खोप हानिकारक छैन । डराउनु पर्दैन । म त यहीँ पढेको शतप्रतिशत विश्वस्त छु । यहाँ एउटा मात्र हैन बीसौं खोप बन्दैछन् । ६ वटा तयार भइसके । ३ वटा परीक्षणको क्रममा छन् । यहाँ प्रयोगमा आएको खोपको माग बढ्दो छ । २० वटा देशले मागिसके ।’

भेक्टर भ्याक्सिन माइनस ८० डिग्री सेन्टिग्रेडमा फि्रज गरिन्छ । त्यो निकालेर डिफ्रिज गरेर झोल बन्न झण्डै २० मिनेट लाग्छ । यसलाई राख्नका लागि त्यस्तै खालको रेफ्रिजेसन सुविधा हुनुपर्छ । पहिलाको खोपमा त्यस्तो हुने थिएन । नेपालको परिफ्रेक्षमा यसको प्रयोगका लागि केही झन्झट हुन सक्ने डा. श्रेष्ठको बुझाइ छ ।

रुसमा फ्रन्टलाईनमा काम गर्नेहरुले खोप लगाइसकेको र तेस्रो चरणमा ३० हजारले खोप लगाउँदै छन् । केही दिनमा रुसमा रहेका अन्य नेपालीले समेत खोप लगाउने डा. श्रेष्ठले बताए । -onlinekhabar