नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६ सय ३२ पुग्यो


   काठमाडौ-   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा देशभर ११ हजार १ सय ५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत आइसोलेशनमा नौ हजार १ सय ९३ र होम आइसोलेशनमा आठ हजार ९ सय ४९ जना रहेका छन् । गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर ८ सय २३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७२ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा आज सात हजार १ सय ७१ छन् । त्यस्तै आइसियुमा उपचाररत २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् ।