एनआरएनए १३ औं युरोपेली बैठक अक्टोबर ३-४ तारिखमा


लन्डन —  एनआरएनए १३ औं युरोपेली बैठक तथा ११ औँ क्षेत्रीय महिला भेला र दोश्रो यूरोपेली  ज्ञान सम्मेलन यही अक्टोबर ३-४ तारिखमा  आयोजना हुन लागेको  छ ।

सम्मेलनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले बैठकको उद्घाटन  पर्यटन मन्त्री योगेश भट्टराईले गर्ने तय भएको जानकारी दिए । बैठकलाई नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पनि सम्बोधन गर्ने छन्।

कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने उक्त सम्मेलनको मूल नारा “मातृभूमिको लागि सिप र ज्ञान, महिला
तथा युवा आवाजको लागि हाम्रो अभियान” रहेको छ ।सम्मेलन अन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला,  चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा  महिला नेतृ रामकुमारी झांक्री सहभागी हुने युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले जानकारी दिइन्  ।

दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालले ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गर्ने बताए। उनले ज्ञान सम्मेलनमा शिक्षा मंत्री गिरिराजमणि पोखरेल पनि सहभागी हुने बताए।

एनआरएनए युरोपका उपसंयोजक  मुक्त बहादुर गुरुङले युरोप भित्रका एनसीसीसीहरुबीच अन्तरक्रिया हुने बताए। पत्रकार सम्मेलनमा गुरुङले भने,” परम्परागत ढंगले भन्दा फरक ढंगले यसपटक छलफल हुनेछ। ३-४ मिनेट समय दिएर रिपोर्ट प्रस्तुत गर्ने गरिथ्यो। तर यसपटक सबै एनसीसीले नै हेर्न मिल्ने गरी पहिले नै रिपोर्ट सेयर गर्ने तथा पंजीकृत सदस्यता निशुल्कबारे सबै एनसीसीको धारणा बुझ्ने योजना रहेको छ।”

एनआरएनए युरोपका उपसंयोजक शुक्रराज न्यौपानेले संचारकर्मीहरुको निरन्तर साथ र सहयोगका कारण नै एनआरएन अभियान यो स्थानसम्म आइ पुगेको भन्दै आगामी दिनमा पनि मिडियाको यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।  उनले सम्मेलनमा मिडियासंग सम्बन्धित एउटा छलफल सत्र राखिएको जानकारी पनि दिए।  उनकै संयोजनमा एनआरएन युरोपले एउटा मिडिया समिति पनि गठन गरेको छ। कार्यक्रममा एनआरएन युरोपका उपसंयोजक कृष्ण तिमल्सेनाले पनि आफ्ना भनाइ राखेका थिए।

सम्मेलनलाई नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि आयोजकहरुले जनाएका छन्।