नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाण्डौ – बुधबार नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो । नेपालमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ । थप १ हजार ५७ जना गरी आजसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

यसैगरी कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु भएको छ भने १५५९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षीया महिला तथा ५४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षीय पुरुष, मोरङमा ६० वर्षीय पुरुष, सप्तरीमा ३९ वर्षीय पुरुष र रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

यसैबीच मन्त्रालयले पीसीआर परीक्षणको शुल्क समायोजनका लागि विभिन्न प्रयोगशालाहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणको शुल्क २४ घण्टाभित्र समायोजन गर्न निर्देशन दिनुभयो । २४ घण्टाभित्र शुल्क समायोजन नभए अनुमित खारेज गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।
हाल नेपालमा आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।